BREAKING NEWS

Saturday, October 15, 2016

धमाधम थपिँदै हेलिकोप्टर



काठमाडौ २९ असोज । आन्तरिक उडानका हेलिकोप्टर सेवा प्रदायक कम्पनीले धमाधम हेलिकोप्टर थप गर्न थालेका छन् । दसैं लक्षित गर्दै नेपाली आकाशमा अल्टिच्युटन नामको नयाँ हेलिकोप्टर कम्पनी थपिएको छ ।

एभरेस्ट हेलिकोप्टर नामको कम्पनीले पनि सेवा सुरु गर्ने अन्तिम तयारी गरेको छ । एभरेस्ट हेलिकोप्टरले श्री एयरलाइन्सका दुईवटा एएस ३५० बी थ्रीनामक हेलिकोप्टर किनेर सेवा सुरु गर्ने कार्यक्रम बनाएको छ । यो वायुसेवाले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिन आवश्यक प्रक्रिया अगाडि बढाइरहेको जानकारी दिएको छ ।

हेलिकोप्टर सेवामा क्रियाशील आधा दर्जन हेलिकोप्टरको तुलनामा फरक प्रकारको हेलिकोप्टर सञ्चालन गरिहेको प्रभु हेलिकोप्टर्सले रविन्सन्स कम्पनीको सानो हेलिकोप्टरबाट सेवा दिइरहेको छ । यसले सोही कम्पनीको अर्को हेलिकोप्टर थप गरेको छ । दसैंलाई लक्षित गरेर यो कम्पनीले नयाँ हेलिकोप्टर थपेको हो ।

हेलिकोप्टर सेवामा आफ्नो फरक पहिचान बनाएको फिस्टेल एयरले पनि दसैंलाई दृष्टिगत गरेर एउटा नयाँ हेलिकोप्टर थपेको छ । यो वायुसेवा कम्पनीले एयरबस हेलिकोप्टरको एएस ३५० बी थ्रीनामक हेलिकोप्टर थपेर दसैंदेखि नै सेवा सुरु गरेको एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुमन पाण्डेले बताए । उनका अनुसार आगामी एक वर्षभित्रै एयरलाइन्समा एक अर्ब रुपैयाँसम्म लगानी थप गर्ने योजना फिस्टेल ग्रुपको छ ।

फिस्टेल ग्रुपमा फिस्टेल एयरनामक हेलिकोप्टर र नियमित उडानको आन्तरिक वायुसेवा कम्पनी गोमा एयर छन् । पाण्डेका अनुसार फिस्टेलले आगामी एक वर्षभित्रै बेल कम्पनीका दुईवटा हेलिकोप्टर थप गर्ने भएको छ । गोमा एयरका लागि भने एउटा लेट ४१० जहाज आगामी जनावरीभित्र थप हुने भएको छ ।

फिस्टेलले सिम्रिक हेली ट्रेडमार्फत बेलका दुईवटा हेलिकोप्टर खरिदको सम्झौता दसैंअगाडि गरेको जानकारी पाण्डेले दिए । सिम्रिक हेली नेपालका लागि बेलको आधिकारिक बिक्रेता कम्पनी भएको सिम्रिक एयरका प्रमुख प्रबन्धक दिलबहादुर ओलीले बताए । ओलीका अनुसार सिम्रिकले पनि आगामी तिहारसम्ममा एउटा हेलिकोप्टर ल्याउने भएको छ ।

यसले बेलकै एक हेली ल्याउने अन्तिम तयारी गरिरहेको छ । सिम्रिकले युरोपकै हेलिकोप्टरको पुरानो भर्सनको हेलिकोप्टर भने काठमाडौं भित्र्याइसकेको छ । यसलाई उडाउने तयारीमा रहेको जानकारी पनि ओलीले दिए ।

फिस्टेलले दसैंदेखि एयरबस हेलिकोप्टर कम्पनीको एउटा एएस ३५० बी थ्री नामक ६ सिट क्षमताको हेलिकोप्टर थपेको थियो । यो हेलिकोप्टर करिब २५ करोड रुपैयाँमा खरिद भएको फिस्टेलको भनाइ छ । फिस्टेलले थप गर्न लागेको दुईवटा हेलिकोप्टरमा एउटाको १२ करोड रुपैयाँ पर्ने उल्लेख छ ।

फिस्टेलले नयाँ बजार रणनीति बनाएर बजार विस्तार गर्दै जाने र आन्तरिक उडानमा फिक्स विंग्स तथा हेलिकोप्टर सेवाको पहुँच बढाउने योजना रहेको जानकारी पाण्डेले दिए । उनका अनुसार विकास राणा अध्यक्ष रहेको यो कम्पनीले नेपाली हवाई क्षेत्रमा बलियो पहुँच बनाएर अगाडि बढ्ने दीर्घकालीन रणनीति बनाइरहेको छ ।

फिस्टेलले दसैंअगाडि मात्रै बेलका दुईवटा हेलिकोप्टर खरिद गर्न टेक्ट्रोन कम्पनीसँग सम्झौता गरेको छ । सम्झौतामा फिस्टेलका अध्यक्ष विकास राणाले हस्ताक्षर गरेका छन् । नेपाली आकाशमा दुई प्रकारको हेलिकोप्टर सेवा प्रदान गरेर नयाँ पुस्तालाई सेवा दिन यो कम्पनी अब्बल ठहरिँदै गएको बुझाइ पनि फिस्टेल एयरको छ ।

नेपाली आकाशमा फिस्टेल, अल्टिच्युट, प्रभु, सिम्रिक एयर, श्री एयरलाइन्स, माउन्टेन हेलिकोप्टर्स, एयर डाइनेस्टी र मनाङ एयरले हेलिकोप्टर सेवा प्रदान गरिरहेका छन् । यी सबै वायुसेवासँग एकदेखि चारवटासम्म हेलिकोप्टर रहेकाले दैनिक १८ वटासम्म हेलिकोप्टर उड्ने गरेको मनाङ एयरका कर्पोरेट प्रमुख राजु न्यौपानेले बताए । उनका अनुसार हेलिकोप्टरमा बजारको अवश्यकताभन्दा चर्को प्रतिस्पर्धा बढेको छ ।

सेप्टेम्बरदेखि डिसेम्बरसम्मको पर्यटकीय सिजनमा सबैले काम पाउने भए पनि त्यसपछिको समय भने हेलिकोप्टर काम नपाउने अवस्थामा पुग्छन् । प्रतिस्पर्धा बढे पनि सेवामा गुणस्तर बढाउन नसकिएको न्यौपानेले बताए । अन्नपूर्णपोष्टबाट

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .