BREAKING NEWS

Thursday, July 14, 2016

नगरपालिकाका कर्मचारीले अनुचित लाभ लिएको लेखनाथवासीकाे गुनासाे


लेखनाथ, ३० आषाढ:

कास्कीको लेखनाथ नगरपालिकाले सार्वजनिक सुनुवाइ गरेको छ । बिहीबार कार्यालय परिसरमै भएको सार्वजनिक सुनुवाइमा नगरवासीको गुनासोप्रति जवाफ दिँदै कार्यकारी अधिकृत लोकबहादुर भण्डारीले सुधारका कार्य तत्कालै कार्यालयबाटै गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मापदण्डको विषयमा उठेको जिज्ञासामा उनले नगरपालिकाको कार्यालयको पश्चिमपट्टी रहेको टुँडोको पर्खाल हटाएर मापदण्ड कार्यान्वयको सुरुवात गर्ने बताए । कर्मचारीको व्यवहार र अनुचित लाभ लिएको विषयमा कार्यकारी अधिकृतले कर्मचारीको लागि खाजा खान निर्धारण गरिएको समयमा समेत निगरानी राख्ने र तत्काल वडा सचिव सहित सबै कर्मचारीलाई एकै ठाँउमा राखेर सबै खालका अनुशासनमा ध्यान दिन निर्देशन दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सहभागीले कर्मचारीहरुले सेवाग्राहीबाट अनुचित लाभ लिने गरेको, नातावाद र कृपावाद मौलाउन थालेको, राजनीतिक आस्थाका आधारमा काम गर्ने गरेको, सेवाग्राहीको समस्यालाई ध्यान दिन नखोजेको, सेवा ग्राहीलाई हप्काउने गरेको लगायतका गुनासो गरेका थिए ।



प्राविधिक कर्मचारीहरुले समयमा सेवा दिन नसकेको, प्राविधिक कर्मचारीहरुलाई रकम नदिए काम नगर्ने गरेको गुनासो पनि नागरिकहरुको थियो । लेखनाथ नगरपालिकामा निर्धारण गरिएको सडक तथा भवन मापदण्ड कार्यान्वयन नभएको, विकास निर्माणमा गुणस्तर कायम हुन नसकेको, प्रभावकारी अनुगमन हुन नसकेको, ताल संरक्षणमा नगरपालिकाले ध्यान दिन नसकेको, पूर्वाधार निर्माण मैत्रीपूर्ण हुन नसकेको, लक्षित वर्ग कार्यक्रमले लक्षित वर्गलाई समेट्न नसकेको लगायतका गुनासो गरेका थिए ।

तरंग प्रालिको सहजीकरण तथा व्यवस्थापनमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै लेखनाथका राजनीतिक दलका प्र्रमुख तथा प्रतिनिधिले लेखनाथलाई दीर्घकालीन योजनाका साथ अघि बढाउनुपर्ने विचार राखेका थिए ।

कार्यक्रममा नेपाली काँग्रेसका प्रतिनिधि डम्बर थापा, नेकपा एमालेका नगर इन्चार्ज शंकरनाथ पौडेल, नेकपा माओवादी केन्द्रका पुष्पकमल ढुंगाना, राप्रपा नेपालका अध्यक्ष हरिबहादुर जिसी, राप्रपाका नगर अध्यक्ष हेमबहादुर हमाल, राष्ट्रिय जनमोर्चाका प्रतिनिधि विक्रम थापा, संघीय समाजवादी फोरमका नगर अध्यक्ष मेकबहादुर गुरुङ तथा अखण्ड नेपाल पार्टीका नगर अध्यक्ष मोति गिरीले योजनाबद्ध रुपमा नगरपालिकालाई अघि बढाउनुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा सहभागी नगरवासीहरुको प्रश्न तथ गुनासोको सुनवाइपछि लेखनाथ नगरपालिकाले पाँच बुँदे लिखित प्रतिबद्धता जारी गरेको छ । चिया खाजाखाने निर्धारित समय पालना गर्ने, अनुचित लाभ लिएको गुनासो आएकोले तत्काल सबै कर्मचारीलाई अनुशासनमा रहन निर्देशन जारी गर्ने गरी सेवा प्रवाहमा सुधार गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

लेखनाथ नगरक्षेत्रमा रहेका सार्वजनिक जग्गा तथा सम्पत्ति संरक्षणको कार्य तत्काल सुरु गर्ने र पहिलो चरणमा पार्क तथा उद्यानको लागत अद्यावधिक गर्ने कुरा पनि उल्लेख गरिएको छ ।

लेखनाथ नगरपालिका कार्यकारी अधिकृत लोकबहादुर भण्डारी सहित विज्ञ कर्मचारीले हस्ताक्षर गरेको प्रतिबद्धता पत्रमा नगरपालिकाको कार्यालयबाटै सडक तथा भवन मापदण्डको कार्य सुरु गर्ने र अपांग मैत्री बनाएर मैत्रीपूर्ण भौतिक पूर्वाधार निर्माणको कार्य पनि तत्काल सुरु गर्ने कुरा लेखिएको छ ।

लक्षित वर्ग कार्यक्रमलाई प्रभावकारी बनाउनको लागि खुल्ला प्रतिस्पर्धाको आधारमा संघसंस्थाहरुसँग लक्षित वर्ग कार्यक्रम सञ्चालनको सम्झौता गरी कार्य अघि बढाउने कुरा पनि उल्लेख गरिएको छ ।

लेखनाथ नगरपालिकाले सार्वजनिक स्थलमा व्यक्त गरेको प्रतिबद्धता, नगरपरिषद् तथा बैठकले गरेका निर्णय, निर्धारण गरेका नीति तथा कार्यक्रम एवं नेपाल सरकारले जारी गरेको ऐन, नीति, नियम तथा निर्देशिकाको कार्यान्वयन भए नभएको बारेमा निगरानी गर्नको लागि लेखनाथ नगरपालिकाले निगरानी समूह गठने गरेको छ ।

बिहीबार भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी नगरवासीहरुको रोहवरमा सहभागीहरुमध्ये निगरानी समूह गठन गरिएको हो । मिलन तिवारीको संयोजकत्वमा भएको निगरानी समूहमा माधव भण्डारी, लक्ष्मी ढकाल, हरिश्चन्द्र अधिकारी र हरि बराल सदस्य रहैका छन् ।


















via- Samadhan Online

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .