पोखरा, ३० असार । राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि समाजसेवी सूर्यबहादुर केसीले आफ्ना पिताको स्मृतिमा रु ११ लाखको अक्षय कोष स्थापना गर्नुभएको छ ।
पुरस्कारका सम्बन्धमा जानकारी गराउने उद्देश्यले यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रत्येक वर्ष न्यूनतम एक जना पत्रकारले रु एक लाख नगद पुरस्कार पाउने गरी कीर्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिने जानकारी गराउनुभयो ।
नेपाल पत्रकार महासङ्घ कास्कीले सञ्चालन गर्ने गरी प्रत्येक वर्षको चैत १९ गते प्रदान गरिने उक्त पुरस्कार स्थापनाका लागि आज समाजसेवी केसी र नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।
पुरस्कारले यस क्षेत्रको पत्रकारिता विकासमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको महासङ्घका अध्यक्ष रामकृष्ण ज्ञवालीले बताउनुभयो । सो अवसरमा केसीले कास्कीका बालबालिका तथा महिला प्रतिभालाई प्रत्येक वर्ष प्रदान गरिने रु ३०÷३० हजार नगद पुरस्कारका लागि रु तीन÷तीन लाखको अक्षय कोष स्थापना गरिएको जानकारी दिनुभयो । रासस