BREAKING NEWS

Friday, June 3, 2016

दलितको कार्यक्रममा सिडिओ नगएपछि...

फोटो :नेपाल छुवाछुतमुक्त राष्ट्र घोषणा भएको दसौँ वर्ष प्रवेशका अवसरमा आयोजित विचार गोष्ठी । तस्बिरः सूर्यप्रकाश कँडेल

२०७३ जेष्ठ २१ शुक्रबार

भरतपुरः संयुक्त राजनीतिक दलित संघर्ष समिति चितवनको कार्यक्रमलाई प्रमुख जिल्ला अधिकारी (सिडिओ) विनोदप्रकाश सिंह उपस्थित नभएको भन्दै आयोजकले आपत्ति जनाएका छन् ।

प्रमुख अतिथिको रुपमा निम्ता गरिएका सिडिओ सिंह कार्यक्रममा अनुपस्थित भएपछि आयोजकले आपत्ति जनाएका हुन् ।

आयोजकले सिडिओले दलितका मुद्धा सुन्न नचाहेकाले कार्यक्रममा अनुपस्थित भएको आरोप लगाएका छन् । नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा भएको दसौँ वर्ष प्रवेशका अवसरमा जिल्ला विकास समितिको सभाहल भरतपुरमा आयोजित कार्यक्रमलाई सिडिओले बहिष्कार गरेको आयोजकको दाबी छ ।

सिडिओ सिंह कार्यक्रममा उपस्थित नभएपछि आयोजकले दलित वर्ग समन्वय समितिका उपाध्यक्ष मीनबहादुर विश्वकर्मालाई प्रमुख अतिथि बनाएर दुई घण्टा ढिलो गरी कार्यक्रम सुरु गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि विश्वकर्माले राष्ट्र छुवाछुत मुक्त भएपनि जनता हुन नसकेको बताए ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सदस्य चक्र रुचालले कार्यक्रममा सिडिओ सिंहको अनुपस्थितिप्रति खेद व्यक्त गरे ।

‘प्रमुख अतिथि कोही नपाएर हामीले प्रमुख जिल्ला अधिकारीलाई बोलाएका थिएनौँ’ उनले भने, ‘हामी दलितका कुरा सरकारी मान्छेलाई सुनाउँन चाहन्थ्यौँ । तर, सिडिओले हाम्रो कार्यक्रम नै बहिष्कार गरिदिनुभयो ।’

समाजका जिल्ला अध्यक्ष विजयकुमार विश्वकर्माले राज्यको घोषणाले मात्र छुवाछुत कम नहुने बताए । दलित मुक्ति मोर्चा नेपालकी केन्द्रीय सदस्य रुपा सुनारले मान्छे भएर जन्मिँदा पनि जन्मजात अछुत भन्ने चलन अझै देशबाट हराउन नसकेको चर्चा गरिन् ।

जातीय मुक्ति समाज चितवनकी सहसचिव ज्योति सुनारले कार्यक्रममा सिडिओ नआएर आफूहरुलाई केही फरक नपर्ने बताइन् । उनले दलितको जवानी चल्ने तर पानी नचल्ने भन्दै छुवाछुत प्रथाप्रति व्यंग्य गरिन् ।

आयोजक समितिका अध्यक्ष भीमबहादुर विश्वकर्माको अध्यक्षतामा सम्पन्न गोष्ठीमा दलित नेताहरु गोविन्द विश्वकर्मा, सहदेव विश्वकर्मा, खेमबहादुर दर्जी, कृष्ण वयलकोटी, मीनबहादुर थापा परियार, हरिबहादुर परियार, विनोद विश्वकर्मा, बाबुराम प्यासीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

उनीहरुले सरकारी पदाधिकारीले नै दलित समुदायलाई हेर्ने दृष्टिकोण सही बनिनसकेको अवस्थामा आमजनतामा परिवर्तन आउन समय लाग्ने चर्चा गरे । दमाईले छोएको सार्कीले नखाने अनि सार्कीले छोएको कामीले नखाने पुरानो चलनमा परिवर्तन आउनुपर्ने उनीहरुको भनाइ थियो ।

यसैबीच, चितवनका प्रजिअ सिंहले भने दलितको कार्यक्रमबारे आफूलाई पूर्वजानकारी नभएको अन्नपूर्णसँगको टेलिफोन कुराकानीमा बताए ।

‘मैले समय दिएको कार्यक्रममा भ्याएसम्म जाने गरेको छु’ प्रजिअ सिंहले भने, ‘दलितको कार्यक्रमबारे मलाई पूर्वजानकारी भएन । मसँग पहिले नै समय लिइएको पनि थिएन ।’

कार्यक्रम सुरु भइसकेपछि ‘हामीले कुरेर बसेका छौँ, सर आउनुप¥यो’ भनेको तर आफूले अर्कै कार्यक्रममा समय दिइसकेकोले दलितको कार्यक्रममा जान नसकेको प्रजिअ सिंहले बताए ।

From: AnnapurnaPost

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .