BREAKING NEWS

Thursday, May 19, 2016

सरकारी स्कुलमा गाभियो बोर्डिङ


हेमजा ६ जेठ। सरकारी स्कुलहरू गाभिएको भएको सुन्दै आएका तपाई-हाम्रालागि बोर्डिङ स्कुल सरकारी विद्यालयमा गाभियो भन्ने खबर सुन्दा पत्यारै लाग्दैन। किनकी सरकारी स्कुलबाट धमाधम आफ्ना छोराछोरी निकाली निजी विद्यालयमा भर्ना गर्न आतुर अधिकांश नेपालीलाई यो घटना अनौठो नै हो।

तर कास्कीको ढिकुरपोखरी-३ स्थित सनराइन एकेडेमी यही शैक्षिक सत्रदेखि ढिकुरपोखरी-३ कै महेन्द्र सामुदायिक प्राथमिक विद्यालयमा गाभिएको छ। विद्यार्थी सङ्ख्या कम भएको कारण देखाउँदै जिल्ला शिक्षा कार्यालयले महेन्द्र प्राविलाई गत चैत २५ गते विद्यालय गाभ्नेसम्बन्धमा पत्र काटेपछि स्थानीयको पहलमा विद्यालय जोगाउन अनेक प्रयास भए। फलस्वरुप नजिकैको बोडिङ स्कुललाई उक्त विद्यालयमा गाभ्न बोडिङ सञ्चालकहरू पनि तयार भए। सनराइजका ५० विद्यार्थी महेन्द्र प्राविमा भर्ना भए।

कास्कीका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले देशमै निकै नौलो र उदाहरणीय काम ढिकुरपोखरीमा भएको बताए। शर्माले भने-’विद्यालय समायोजन कार्यान्वयन निर्देशिका २०७० को परिच्छेद २ को बुँदा नं. ४ मा रहेर कास्कीका यस पटक हामीले कुल एक सय ४५ सरकारी विद्यालयलाई मर्जका लागि चिठी काटिसकेका छौं तर महेन्द्र सामुदायिक प्राविको जस्तो उदाहरणीय र प्रशंसनीय काम अन्त कतै भएको छैन’। बोर्डिङ स्कुलमा पढ्दैमा गुणस्तरीय शिक्षा हासिल गरिने तर सरकारीमा हुनेबित्तिकै गुणस्तरीय नहुने भन्ने परिपाटी ढिकुरपोखरीको विद्यालयबाट गलत सावित भएको शर्माले बताए।

२०७२ पुस २६ गते एक्सन एड नेपाल र महिला सशक्तीकरण समाज नेपालले तालिम दिएपछि त्यसबाट आफूहरूलाई विद्यालय व्यवस्थापनका धेरै विषयमा जानकारी हासिल भएको र पुनः फागुन ३ गतेको व्यवस्थापन तालिम लिएपछि विद्यालय सुधारमा योजनाबद्घ तवरले प्रयास थालेका कारण विद्यालय मर्ज हुनबाट बचेको प्रधानाध्यापक ढकराज सुवेदी बताउँछन्। सुवेदी भन्छन्-’गत शैक्षिक सत्रमा कक्षा १ देखि ५ सम्म जम्मा छ जना र शिशु कक्षामा पाँच जनामात्र विद्यार्थी थिए, अब विद्यालय मर्ज हुने भयो, मर्ज हुन दिनु हुँदैन भन्दै कस्सियौ । अहिले ७२ जना विद्यार्थी छन्, यसमा स्थानीय सूर्य परियारको ठूलो भूमिका छ।’

विद्यालयका सहायक प्रधानाध्यापक सीतादेवी भण्डारी अब विद्यालयलाई नयाँ व्यवस्थापनका साथ अगाडि बढाउने योजना सुनाउँछिन्। उनी भन्छिन्-’अब प्रत्येक महिना अविभावकसँग अन्तरक्रिया  गर्ने, अविभावकलाई अनुभूत हुने खालको शिक्षा दिने, विभिन्न छात्रवृत्तिका लागि पहल गर्ने, सरकारी शिक्षक अल्छी छैनन् भन्ने उदाहरण विद्यालयबाट प्रस्तुत गर्ने, टेष्ट लिएर मात्रै विद्यार्थी भर्ना गरिनेछ।’ उनले योजनाबद्घ रुपबाट विद्यालयलाई शसक्त बनाइने बताइन्। भण्डारीले स्थानीय एक बोर्डिङले कक्षाका प्रथम, द्वितीय र तृतीयलाई विभिन्न छात्रवृत्ति दिने र विद्यालयका अन्य दलित विद्यार्थीलाई पिटर भन्ने विदेशीले निजीमै छात्रवृत्तिमा पढाइदिँदा दिँदा विद्यार्थी कम रहेको स्मरण गरिन्। म्याग्दी र बागलुङ जिल्लाका दुर्गम गाँउबाट बसाइसराइ गरी आएका परिवारका सन्तानले मात्र विद्यालय चल्न गाह्रो भएको उनको भनाइ छ।

विद्यालयले यस शैक्षिक सत्रमा मर्निङस्टार उच्च माविबाट आठ जना, धौलागिरी बोर्डिङ स्कुल हेमजाका तीन जना, विद्यालयका शिशु कक्षादेखि ५ कक्षासम्मका कुल ११ जना र सनराइज एकेडेमीका पूरै विद्यार्थी अर्थात् ५० जना भर्ना गराउन सफल भएको छ। त्यसका साथै स्थानीय गाइ जोसेफ प्रारम्भिक बालविकास केन्द्रलाई पनि विद्यालयमा नै आवद्घ गराइएको छ। विद्यालयमा ढिकुरपोखरीको पश्चिम लक्ष्मी देउराली, पूर्व अधिकारीडाँडा र लेवाडेसम्मका विद्यार्थी पठनपाठनका लागि जाने गरेका छन्। विभिन्न २० दातासँग जनही ५० हजारका दरले १० लाख जम्मा गरेर सोको ब्याजबाट तीन निजी शिक्षकको व्यवस्थासमेत विद्यालयले मिलाइसकेको छ।

त्यस्तै, कक्षा १ देखि ५ सम्म अङ्ग्रेजी माध्ययमबाट पढाइ सुरु गरिएको छ। नर्सरी र केजी कक्षाको सजावटमा बिशेष ध्यान दिइएको छ। विद्यार्थी अनुसार फर्निचरको व्यवस्था पनि विद्यालयले मिलाएको छ। विद्यालयका पूर्व विद्यार्थी ऋषि भण्डारीको सहयोगमा सबै विद्यार्थीलाई निःशुल्क विद्यालय पोशाक पनि उपलब्ध गराइसकिएको छ। विद्यालयका शिक्षक मनोजकुमार परियार निजी विद्यालयमा भर्ना गर्नेबित्तिकै विद्यार्थी जान्ने हुन्छन् भन्ने परिपाटी तोड्न आफूहरू सफल भएको बताउँछन्। त्यस्तै, विद्यालयकी सहयोगी कार्यकर्ता मालिका भण्डारी विद्यार्थीको अभाव रहेको विगत सम्झदै आगामी चैतभित्र विद्यालयमा नमुना प्रारम्भिक बाल विकास केन्द्र बनाउने योजना सुनाउँछिन्।

अविभावक वसन्तध्वज कुबँरले आफ्ना छोराछोरीलाई बोर्डिङ स्कुलबाट निकालेर सरकारी विद्यालयमा ल्याएका छन्। कुबँर भन्छन्-’विद्यालयको नियमित रेखदेख गछौं, पठनपाठन सुधारका लागि विद्यालय प्रशासनलाई रचनात्मक सुझाव दिन्छौं। यति गरेपछि त विद्यालयको पठनपाठन कसो सुधार नहोला ? ’

हाल विद्यालय गाभ्नेसम्बन्धमा २०७० असोज २३ गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भई शिक्षा मन्त्रालयबाट जारी भएको ‘विद्यालय समायोजन कार्यान्वयन निर्देशिका २०७०’ कार्यान्वयनमा छ। जस अनुसार पहाडी क्षेत्रमा सामुदायिक प्रावि तह कक्षा १ देखि ३ सम्म २० जना, कक्षा १ देखि ५ सम्म २५ जना विद्यार्थी कायम नरहेमा वा भविष्यमा पनि उक्त विद्यार्थी सङख्या पुग्ने पर्याप्त आधार नदेखिएमा उक्त विद्यालयलाई समायोजन (गाभ्ने) प्रावधान छ।

महेन्द्र प्राथमिक विद्यालयलगायत कास्कीका एक सय ४५ विद्यालयलाई जिल्ला शिक्षा अधिकारी शर्माको अध्यक्षतामा यही मिति २०७२ चैत ५ गते बसेको सामाजिक संवाद समितिको बैठक र मिति २०७२ चैत २२ गते बसेको जिल्ला शिक्षा समितिको बैठकले गाभ्ने निर्णय गरेको थियो। २०७३ बैशाख मसान्तसम्म विद्यार्थी सङ्ख्या पुर्‍याउन समय दिने र उक्त समयसम्ममा पनि विद्यार्थी नपुगे नजिकको विद्यालयमा समायोजन गर्ने निर्णय जिल्ला शिक्षा समितिले गरेको थियो।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .