BREAKING NEWS

Thursday, April 14, 2016

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास, तोकिएकै समयमा निर्माण पूरा हुने विश्वास

पोखरा १ बैशाख । नयाँ वर्षको सुरुवात सँगै पोखरेली र समग्र चार नम्बर प्रदेशवासीको चार दशक पुरानो सपना साकार हुने कामको थालनी भएको छ । लामो प्रतिक्षापछि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको बुधवार शिलान्यास गरियो ।

प्रधानमन्त्री सहित शिर्ष राजनैतिक दलका नेताद्धारा पोखरा विशेष कार्यक्रमका विच विमानस्थलको शिलान्यास गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री द्धय पुष्पकमल दाहाल र झलनाथ खनाल, उपप्रधानमन्त्री द्धय कमल थापा र विजय कुमार गच्छदार , नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला, अर्थमन्त्री विष्णु पौडेल र पर्यटन मन्त्री आनन्द प्रसाद पोखरेलले संयुक्त रुपमा विमानस्थलको शिलान्यास गरेका हुन् ।
शिलान्यासपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको समयमानै निर्माण सम्पन्न हुने दावि गरे । ‘ यस वर्ष हामी राम्रो कामबाट सुरु गरेका छौ । यो वर्ष रन वे वाट सुरु गरिएको छ । नेपाल अव रन वे मा दौडन्छ,’ उनले भने ‘ कुनैपनि कारणले काम रोकिन्न, सरकारले काम रोक्न दिदैन, पोखरा एयरपोर्ट ४ वर्ष भित्र बन्यो बन्यो । ’ निर्धारित समयमै काम सम्पन्न गर्न निर्माण कम्पनी आवश्यक सवै सहयोग गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए ।

त्यस्तै एमाओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा विमानस्थलको शिलान्यासले विकासको कामको थालनी भएको बताए । चीन संग सहकार्य गरेर ल्हासा, केरुङ हुदै काठमाण्डौ पोखरा र लुम्बिनीमा रेलमार्ग निर्माण कार्यलाई अगाडी वढाउने उनले वताए । विमानस्थल सिलान्यासले पोखरामात्र नभइ समग्र नेपालको बिकासको काम अगाडी वढ्ने दाहालको विश्वास छ ।
त्यस्तै पूर्व प्रधानमन्त्री झलनाथ खनालले पोखरा क्षेत्रीय विमानस्थलको सिलान्यासले सिंगो नेपाललाइनै नयाँ युग तर्फ अगाडी वढाएको वताए । पश्चिमाञ्चल क्षेत्रको बिकासको ढोका खुलेको भन्दै खनालले हवाइ यातायातको क्षेत्रमा महत्वपूर्ण कदम अगाडी बढेको र यसले पोखराको समग्र पर्यटनको बिकासमा समेत टेवा पुग्ने वताए ।

उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले विमानस्थल शिलान्यासमा सम्पूर्ण राजनैतिक दलका शिर्ष नेताको उपस्थिती रहेकाले विमानस्थल निर्माण हुनेमा कुनै शंका उपशंका गर्न जरुरी नरहेको वताए । थापाले राजनैतिक दलहरुले आपसी विवादलाई पन्छ्याएर मुलुकको आर्थिक बिकासतर्फ अगाडी वढ्न जरुरी रहेको वताए ।

अर्का उप प्रधान तथा भौतिक योजना मन्त्री बिजय कुमार गच्छदारले पोखरामा शिलान्यास भएको विमानस्थलले समग्र नेपालको बिकासको ढोका खुलेको वताए । गच्छदारले पोखरामात्र नभइ हिमाल, पहाड , तराइको बिकासमा पोखरामा निर्माण हुने अन्तराष्ट्रिय विमानस्थलले ठूलो भुमिका खेल्ने विश्वास ब्यक्त गरेका छन् । उनले बाराको निजगढ विमानस्थल निर्माणलाई पनि अगाडी वढाउनुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेसका महामन्त्री शसांक कोइरालाले बिकासको काममा राजनिती गर्न नहुने वताउदै राजनीतिक बिवादका कारण नेपालका ठूलठूला योजनाहरु सफल हुन नसकेको तितो यथार्थ प्रस्तुत गरे ।

अर्थमन्त्री विष्णु पौडेलले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास संगै मुलुकको विभिन्न आयोजनाहरु अगाडी वढ्ने वताए । विमानस्थल जस्तो बिकासको काममा राजनीतिक दलहरुले समन्वय गरेर अगाडी वढ्नुपर्नेमा उनको जोड दिए ।

विमानस्थल निर्माण कम्पनी चीनिया सिएससीका प्रमुख लउ युनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य तोकिएको समयमानै सम्पन्न गराउने प्रतिवद्धता ब्यक्त गरिन् । पोखराको बिमानस्थल निर्माणमा सरकारले सहयोग गर्नुपर्ने र निर्माणको काममा कुनैपनि ढिलाइ नुहुने उनको भनाई छ ।पर्यटन मन्त्री विष्णु पौडेलले पोखरा क्षेत्रीय विमानस्थल निर्माण संग संगै फास्ट ट्रयाक निर्माणलाई जोड दिइने वताए । मन्त्री पौडेलले पोखराको बिमानस्थल तोकिएकै समयमा निर्माण हुनेमा ढुक्क हुन आग्रह गर्दै विमानस्थल निर्माणको क्रममा कुनैपनि अवरोध नगर्न पोखरेलीलाई आग्रह गरे ।

विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिका संयोजक रविन्द्र अधिकारीले पोखरेलीको दशकौ अघिको सपना साकार भएको भन्दै समयमै निर्माण कार्य सम्पन्न गर्न पोखरेलीले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले विकासको नमुना पोखराबाट देखाउने समेत उद्घोष गरे ।

पोखराको छिनेडाँडामा विमानस्थल निर्माणका लागि चिनियाँ कम्पनी सीएएमसी इञ्जिनियरिङसँग २०७१ जेठ ८ गते नै ठेक्का सम्झौता भएको थियो । पोखरा विमानस्थल निर्माणका लागि २१ करोड ७० लाख अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । चीनको एक्जिम बैंक सस्तो ब्याजदरमा सहुलियत ऋण दिन तयार भएको छ ।

ठेक्का सम्झौता अनुसार विमानस्थलमा धावनमार्ग, ट्याक्सी वे, एप्रोन, अन्तराष्ट्रिय र आन्तरिक टर्मिनल बिल्डिङ, एयर ट्राफिक कन्ट्रोल टावर, कार्गो टर्मिनल बिल्डिङ, एयरपोर्ट हृयांगरलगायत निर्माण हुनेछन् ।

पोखरामा विमानस्थल निर्माणका लागि ४० वर्षअघि नै ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । विमानस्थलमा ४५ मिटर चौडाइ र २ हजार ५ सय मिटर लम्बाइको धावनमार्ग हुनेछ । यसमा बोइङ ७ सय ५७ आकारसम्मका जहाज उडान अवतरण गर्न मिल्ने बताइएको छ ।

यो विमानस्थल सन् २०१७ को अन्त्यमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजना प्रमुख प्रदिप अधिकारीका अनुसार विमानस्थलको लागि आवश्यक थप ५ सय २१ रोपनी जग्गामा ४ सय ६० रोपनी अधिग्रहण गरिसकिएको छ । जग्गा अधिग्रहण र मुआव्जा वितरणको काम ९० प्रतिशत भन्दा बढी सकिएको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .