BREAKING NEWS

Monday, March 21, 2016

पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको ऋण सम्झौता, पोखरेली हर्षित


काठमाडौं ८ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा पोखरा अन्तराष्ट्रिय विमानस्थलको ऋण सम्झौताले साकार रुप लिएको छ ।

सोमबार बिहान बेइजिङको ग्रेट हल अफ दी पिपुलमा अर्थमन्त्री विष्णु पौडेल र चिनियाँ समकक्षीवीच विमानस्थल सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएपछि अब पोखरामा अन्तरराष्ट्रिय विमानस्थल चाडै बन्ने आशा पलाएको छ । यसअघि नै नेपाली पक्षबाट सम्पूर्ण गृहकार्य पूरा भए पनि चिनियाँ पक्षले प्रधानमन्त्रीको भ्रमणकै बेला सम्झौता गर्ने मनस्थिति बनाएको थियो ।

पोखराको छिनेडाँडामा विमानस्थल निर्माणका लागि चिनियाँ कम्पनी सीएएमसी इञ्जिनियरिङसँग ०७१ जेठ ८ गते नै ठेक्का सम्झौता भइसकेको छ । उक्त सम्झौता नेपाल सरकारले सोही वर्षको कात्तिक १० गते स्वीकृत गरेपछि विमानस्थल निर्माणका लागि बाटो खुलिसकेको छ ।

तर, सीएएमसी कम्पनीसँग ठेक्का सम्झौता हुँदा चार महिनाभित्रै एक्जिम बैंकसँग ऋण सम्झौता गर्ने लक्ष्य राखिएको थियो । ठेक्का सम्झौता भएको झण्डै डेढ वर्ष पुगिसक्दा पनि ऋण सम्झौता नभएकाले विमानस्थल निर्माणको काम अघि बढ्न सकेको थिए । अब यो विमानस्थल निर्माणको कामले गति लिने अनुमान गर्न सकिन्छ ।

पोखरा विमानस्थल निर्माणका लागि २१ करोड ७० लाख अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । चीनको एक्जिम बैंक सस्तो ब्याजदरमा सहुलियत ऋण दिन तयार भएको छ ।

अब ठेक्का सम्झौता अनुसार विमानस्थलमा धावनमार्ग धावनमार्ग, ट्याक्सी वे, एप्रोन, अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनल बिल्डिङ, एयर ट्राफिक कन्ट्रोल टावर, कार्गो टर्मिनल बिल्डिङ, एयरपोर्ट हृयांगरलगायत निर्माण हुनेछन् ।

पोखरामा विमानस्थल निर्माणका लागि ४० वर्षअघि नै ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । यो विमानस्थलमा ४५ मिटर चौडाइ र २ हजार ५ सय मिटर लम्बाइको धावनमार्ग हुनेछ । यसमा बोइङ ७ सय ५७ आकारसम्मका जहाज उडान-अवतरण गर्न मिल्ने बताइएको छ । यो विमानस्थल सन् २०१७ को अन्त्यमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

ऋण सम्झौताले अन्तिम रुप लिएपछि पोखरेलीहरु विमानस्थल बन्नेमा ढुक्क भएका छन् । विमानस्थल निर्माणमा दवावदिन निरन्तर लागिपरेका पोखरेली पर्यटन, व्यवसायी, उद्योगी, ब्यापारी, नागरिक समाजले ऋण सम्झौता पछि खुसी ब्यक्त गरेका छन् ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .