BREAKING NEWS

Monday, January 18, 2016

​मुस्लिम र बुद्धिष्ट मिलेर बनाए दुर्गा मन्दिर



माघ ४, पवन यादव, पर्साढाप (चितवन) ।
चितवनको पश्चिममा पर्ने नारायणी नगरपालिका(३ पर्साढापमा मुस्लिम र बुद्धिष्ट समूदाय हिन्दुहरुसँग मिलेर 'माँ दुर्गा भवानी' को मन्दिर निर्माण गरेका छन् ।
ईलाका प्रहरी कार्यालय पर्साढापको परिसरमा दुर्गा भवानीको मन्दिर निर्माण गरिएको हो । ४ महिना अघि उक्त स्थानमा दुर्गा भवानीको मन्दिर बनाउने प्रस्ताव ईप्रका पर्साढापका प्रमुख सई (प्रहरी नायब निरिक्षक) महम्मद लतिफ अन्सारीले गरेका थिए ।
मुस्लिम प्रहरी अधिकृत अन्सारीले मन्दिर निर्माण गर्न प्रस्ताव ल्याएपछि स्थानीय बासिन्दा सुरुमा आश्चर्यमा परेका थिए । 'मुस्लिम समुदायका व्यक्तिले मन्दिर बनाउँछन भनेमा विश्वास नै लागेको थिएन,' स्थानीय टिका अधिकारीले भनिन, 'हिन्दु-मुस्लिमको धर्म नै मिल्दैन ।'
सबै धर्मावलम्बी मिलेर दुर्गा भवानीको मन्दिर बनाएर एकताको मिसाल कायम गरेको उनले बताईन । यसले धार्मिक विभेद हटाउन ठूलो योगदान पुर्‍याएको उनले बताईन ।
गाउँमा उक्त मन्दिर निर्माण पुरा भए पछि यहाँका सबै धर्मावलम्बीहरु खुशी भएका छन । बेलाबेलामा धर्मको नाममा राजनीति गर्नेहरुलाई यसले एकता टुक्रयाउन चुनौती थपेको अर्का स्थानीय देवी खत्रीले बताईन ।
'धर्मको नाममा लडाई झगडा गराउने कार्यलाई यसले निरुत्साहित गर्ने छ,' उनले भनिन, 'हाम्रो एकतालाई पनि यसले थप मजबुत बनाएको छ ।' अहिले सम्म मुस्लिम(बुद्धिष्ट मिलेर दुर्गा भवानी मन्दिर बनाएको आफूले नदेखेको उनले बताईन ।
मन्दिर निर्माणको लागि बोलाइएको भेलामा गाउँका मुस्लिम, बुद्धिष्ट, हिन्दु धर्म मान्ने व्यक्तिहरु सहभागी भएका थिए । भेलाले मन्दिर निर्माण गर्न बुद्धिष्ट धर्म मान्ने गोविन्द तामाङको संयोजकत्वमा निर्माण समिति गठन गरेको थियो ।
सबैले मिलेर गाउँ भरीबाट चन्दा संकलन गरी १५ लाख ८३ हजार ९ सय ६५ रुपैयाँको लागतमा मन्दिर निर्माण कार्य सम्पन्न गरिएको मन्दिर निर्माण समितीका संयोजक तामाङले बताए ।
ुसई महम्मद लतिफले नै मन्दिर बनाउन प्रस्ताव ल्याउँदा आफू पनि आश्चर्यमा परेको उनले बताए । अन्सारीले धर्मको बारेमा स्पष्ट पार्दै आफुहरुको आँखामा लागेको धर्मको पट्टी खोलेको तामाङले उल्लेख गरे ।
सई अन्सारीले पनि मन्दिर निर्माणमा आफ्नो एक महिनाको तलब सहयोग गरेको बताए । 'सबै प्रहरी कार्यालयमा दुर्गा भवानी देवीको पुजा हुन्छ,' उनले भने, 'तर यहाँ मन्दिर थिएन ।' प्रहरी र जनताबीचको भावनात्मक सम्बन्धलाई भौतिक रुपमा प्रस्तुत गर्न, प्रहरीप्रति जनताको अपनत्व बढाउन मन्दिर निर्माण गरिएको उनले बताए ।
'प्रहरीको एउटै धर्म जनताको सेवा र शान्ति सुरक्षा कायम गर्नु हो,' उनले भने, 'हाम्रो धर्मग्रन्थ यही हो ।'
मन्दिर निर्माणमा सबैलाई एकैस्थानमा ल्याएर गाउँमा एकता कायम गराउन सई अन्सारीले गरेको कामको गाउँलेले सराहना गरेका छन ।
उक्त मन्दिरको मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौडाका प्रमुख डिआईजी देवेन्द्र सुवेदीले एक समारोहबीच मन्दिरको सोमवार उदघाटन गरेका छन् । उक्त अवसरमा सई अन्सारी सहित चन्दादाता लगायतलाई सम्मानित गरिएको थियो ।

From Radio Kantipur.

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .