BREAKING NEWS

Sunday, December 20, 2015

गुन्डा च्याप्ने प्रहरी : एक सई, चार हवल्दार र तीन जवानको सरुवा


अर्जुन गिरी, पोखरा ५ पुस ।

टोले गुन्डाको अखडा मानिएको लेखनाथ । केही समय अघिसम्म तिनीहरुको फुर्तीफार्ती बेग्लै थियो । अहिले भने हायल कायल हुँदै छन् । त्यसको कारण छ—आफूलाई संरक्षण गर्नेहरुको अभाव । ‘केही खराब आचरण भएका प्रहरीले उनीहरुलाई च्यापेका थिएर पो कुर्लेका थिए,’ एक प्रहरी अधिकृतले भने, ‘उनीहरुलाई संरक्षण गर्ने मुख्य पात्रसहित केही प्रहरी सरुवा भएको टोलेहरु छट्पटाइरहेका छन् ।’

गुन्डागर्दीमा साथ दिएको भन्ने गुनासो आएपछि इलाका प्रहरी कार्यालय शिशुवाको मातहातका ८ जना प्रहरी सरुवा गरिएको छ । एक सई, चार हवल्दार र तीन प्रहरी जवान सरुवा भएका हुन् । केहीले राम्रोसँग काम नगरेको र केही गुन्डाहरुसँग उठबस रहेको थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय कास्कीको सिफारिसमा उनीहरु सरुवा भएका हुन् ।

सरुवा हुनेमा सई कुलप्रसाद ढकाल पनि छन् । स्रोतका अनुसार उनी ड्युटीमा भन्दा धेरै समय टोलटोलमा दादागिरी देखाउँदै हिँड्नेहरुसँग बिताउँथे । इलाका प्रहरी कार्यालय हर्मी गोरखामा दरबन्दी रहेका ढकाल शिशुवामा काजमा खटिएका थिए । उनको खराब आचरणकै कारण गोरखा फर्काएको प्रहरी स्रोतले बतायो । ‘सामान्यतया गल्ती गर्ने प्रहरीलाई जिल्ला तान्ने गरिन्छ, तर ढकाललाई भने यहाँ राखिएन, जिल्लामा बस्दा पनि गुन्डालाई सूचना चुहाउँछ भन्ने डरले गोरखा पठाइएको हो,’ एक प्रहरीले भने ।

को–को भए सरुवा
सई कुलप्रसाद ढकाल
हवल्दार मुक्तिबहादुर लुङ्गेली
हवल्दार ऋषिराम भट्टराई
हवल्दार ईन्द्रबहादुर कार्की
हवल्दार सन्तबहादुर विक
जवान नेत्रबहादुर विक
जवान दुर्गा थापा
जवान देवबहादुर खप्तरी

सई ढकालसँगै प्रहरी हवल्दार मुक्तिबहादुर लुङ्गेली पनि सरुवा भएका छन् । लेखनाथमा काजमै खटिएका लुङ्गेली आफ्नो दरबन्दी भएकै जिल्ला कपिलवस्तु पठाइएको छ । सरुवा हुनेको सूचीमा प्रहरी जवान दुर्गा थापा पनि परे । उनी दरबन्दी भएकै जिल्ला कपिलवस्तु फर्काएका छन् । प्रहरी हवल्दार ईन्द्रबहादुर कार्कीको सरुवा भैरहवा रुपन्देही भएको छ ।

अरु चार प्रहरी भने जिल्ला प्रहरी कार्यालय कास्कीमा तानिएका छन् । जसमा प्रहरी हवल्दार ऋषिराम भट्टराई, सन्तबहादुर विक, प्रहरी जवान नेत्रबहादुर विक र देबबहादुर खप्तरी छन् । इलाका प्रहरी कार्यालय शिशुवाका प्रमुख मित्रबहादुर आचार्य प्रहरी सरुवाको विषयमा समाधानसँग बोल्न चाहेनन् । आफ्नो मातहातका प्रहरीलाई गुन्डागर्दी विरुद्ध कडा रुपले अघि बढ्न निर्देशन दिएको उनले बताए ।

‘म आउने दिनमै ती ८ जनाको सरुवा हुने कुरा थियो,’ उनले भने, ‘के कारणले सरुवा भएको मलाई थाहा भएन ।’ लेखनाथ क्षेत्रका सबै प्रहरीलाई आफ्नो काम र कर्तव्यबारे राम्रोसँग ब्रिफिङ गरेको उनले बताए । ‘म आएदेखि अहिलेसम्म गुन्डागर्दी विरुद्ध एउटा उजुरी त के गुनसो आएको छैन,’ उनले भने, ‘गुनासो आयो भने जोसुकै होस् जहाँ सुकै होस् कुनै हालतमा छाड्नेवाला छैन ।’

लेखनाथमा गुन्डागर्दीको प्रमुख स्रोत निर्माण व्यवसाय रहेको एक स्थानीयले बताए । ‘काम गरे जस्तो पनि देखिने पैसा पनि ठग्ने,’ स्रोतले भन्यो । -समाधानमा प्रकाशित

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .