BREAKING NEWS

Friday, November 6, 2015

म्याग्दीको घोरेपानीमा पदमार्ग निर्माण

२० कार्तिक, म्याग्दी । विश्व प्रसिद्ध अन्नपूर्ण पदयात्राले समेटिएको म्याग्दीको घोरेपानीमा पर्यटकको सुविधाको लागि पदमार्ग निर्माण गरिएको छ ।
जिल्लाको प्रमुख पर्यटकीयस्थलको रुपमा चिनिएको घोरेपानी र पुनहिल क्षेत्रको भम्रणमा आउने पर्यटकलाई सहजरुपमा आवतजावत गर्न सहजताका लागि पदमार्ग निर्माण गरिएको हो । घोरेपानी होटल व्यवस्थापन समितिको नेतृत्वमा रु ७५ लाख लागतमा सो पदमार्ग निर्माण गरिएको हो ।


तीन वर्षको अवधिमा घोरेपानीदेखि पुनहिल र घोरेपानीदेखि शिखजाने बाटोमा व्यवस्थित पदमार्ग निर्माण गरिसकिएको स्थानीय होटल व्यवसायी टेकसर बुद्धुजा पुनले बताए । ‘घोरेपानीदेखि घान्द्रुक जाने बाटोमा रु १६ लाख लगानीमा पदमार्ग बनाएका छाैं’ उनले भने ।

तीन हजार २१० मिटर उचाइँको पुनहिलबाट मनोरम हिमश्रृङ्खला र प्राकृतिक सौन्दर्यताको अवलोकनको लागि हरेक वर्ष ३० हजारको हाराहारीमा पर्यटक घोरेपानी क्षेत्रको भम्रणमा पुग्ने गरेका छन् । पुनहिलको भम्रणमा जाने विदेशी पर्यटकबाट लिइने प्रतिव्यक्ति ५० रूपैयाँ शुल्क र होटल व्यवसायीबाट उठाइने करबाट पदमार्ग, अप्ठ्यारो ठाउँमा रेलिङ बनाउनेलगायतका काम गर्दै आएको समितिले जनाएको छ ।
हालसम्म जिल्ला विकास समितिमार्फत रु पाँच हजार बजेट उपलब्ध भएको र बाँकी ७० लाख रूपैयाँ होटल व्यवस्थापन समितिकै लगानीमा पदमार्ग बनाइएको हो । विभिन्न ठाउँमा पैदलमार्ग भत्किएको र जङ्गल क्षेत्र भएकाले कतिपय ठाउँमा पैदलमार्ग नै नभएकाले पदमार्ग निर्माण अभियान चलाएको अध्यक्ष पुनले बताए ।
‘पदमार्ग निर्माण भएपछि पर्यटक लड्ने र घाइते हुने जस्ता समस्या कम भएको छ’ उनले भने । समितिले घोरेपानीदेखि तिखेढुङ्गा जाने बाटोमा समेत पदमार्ग निर्माणलाई तिव्रता दिएको छ ।
पर्यटकको सुविधाको लागि पदमार्ग निर्माणसँगै घोरेपानी प्रवेश गर्ने चार स्थानमा प्रवेशद्धारसमेत निर्माण गरिएको छ । पुनहिल तथा स्थानीय जङ्गलमा पाइने लालीगुराँसको जंगल संरक्षणमा लागेको समितिका पूर्वअध्यक्ष क्याप्टेन डमबहादुर पुनले जानकारी दिए ।
राउण्ड अन्नपूर्ण र अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्ग हुँदै घोरेपानी भम्रणमा जाने पर्यटक बढेसँगै स्थानीय होटल व्यवसायीले पर्यटकलाई लक्षित गर्दै विभिन्न सेवा र सुविधासमेत विस्तार गर्दै लगेका छन् । रासस

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .