BREAKING NEWS

Wednesday, November 18, 2015

बेथितिमा लेखनाथ नगरपालिका, जग्गाविकास कार्यविधि कागजमा मात्रै सिमित, नगरमा धमाधम प्लटिङ


लेखनाथ २ मंसिर । लेखनाथ नगरपालिका आफैले बनाएको नीति कार्यान्वयन नगर्दा अव्यवस्थित मात्र हैन बेथितिको नगरको रुपमा समेत चिनिन थालेको छ ।
व्यवस्थित नगर बनाउन भन्दै, नगरपालिकाले भूकम्प गएको पाँच महिनापछि बनाएको जग्गाविकास कार्यविधि २०७२ कार्यन्वयन नभई अलपत्र परेको छ । भदौ २० गते विशेष नगरपरिषद भन्दै नगरपालिकाले जग्गा विकास र नक्सापास सम्वन्धी दुईवटा महत्वपूर्ण कार्यविधि निर्माण गरी पारित गरेको थियो । नगरपरिषदबाट पारित भएको दुई महिना वित्नलाग्दा समेत दुईवटै कार्यविधि कार्यान्वयनमा नगरपालिकाले चासो दिएको छैन ।
नगरपालिकाले कार्यविधि बनाएपनि त्यसको अटेर गर्दै, नगरका विभिन्न स्थानमा धमाधम जग्गा विकास तथा प्लटिङका कार्यहरु भैरहेका छन् । त्यसरी गरिएका प्लटिङका घडेरी आर्थिक प्रलोभनमा परि नगरपालिकाका कर्मचारीहरुले विक्री बितरणको सिफारिस समेत गर्ने गरेका छन् । नगरपालिकाको स्विकृती नलिइ जग्गा विकास कार्यविधि २०७२ विपरित गरिएका प्लटिङलाई निरुत्साहित गर्नुपर्नेमा नगरपालिकामा कार्यरत कर्मचारीहरुले नै आर्थिक प्रलोभनमा परि घरबाटोको सिफारिस गर्ने गरेका छन् ।
त्यस्ता जग्गाविकास योजनाको स्थलगत अध्ययन तथा स्विकृती लिए नलिएको तथा कार्यविधिले तोकेअनुसारको प्रावधान पुरा गरेको छ कि छैन भन्ने निरिक्षण नगरी नगरपालिकाका केही कर्मचारीले त्यस्ता जग्गाको सिफारिस बनाइएदिने ठेक्का नै लिने गरेको श्रोतले बतायो ।
सरकारी तथा गैरसरकारी वा नीजि जुनसुकै क्षेत्रबाट जग्गाविकास गर्दा नगरपालिकाबाट सो आवसिय क्षेत्रको प्लानमा के कस्ता आधारभूत सुविधाहरु बाटो, ढल, खानेपानी, विजुली, टेलिफोन कुन कुन स्तरका सुविधा के कसरी र कती हुने हो समेत खुलेको योजना बनाई स्विकृत गराउनु पर्नेछ भन्ने प्रावधान कार्यविधिमा छ । तर नगरक्षेत्र भित्र भएका जग्गा विकास तथा प्लटिङ ठाडै सो कार्यविधिको उल्लघंन गरि गरिएका छन् ।
नगरपालिकाले कार्यविधिमा उल्लेख भएअनुसार निरिक्षण जग्गा विकास तथा प्लटिङ गर्दा ५ देखी १० रोपनीको क्षेत्रफलमा ५ प्रतिशत जग्गा खाली ठाउँका लागि छाड्नु पर्ने प्रावधान छ तर यो प्रावधान कुनै पनि प्लटिङ वालाले पुरा गरेका छैनन । यस्तै १० देखी २५ रोपनीसम्म जग्गा विकास गर्दा ४ प्रतिशत, २५ देखी १ सय रोपनी क्षेत्रफलमा जग्गा विकास गर्दा ३.५ प्रतिशत र १ सय भन्दा बढी रोपनी जग्गा विकास गर्दा साढे दुई प्रतिशत जग्गा खाली छोड्नु पर्ने हुन्छ तर नगरपालिकामा यो मापदण्ड पुरा नगरी जग्गा विकास गरेर निर्धक्कताका साथ विक्री वितरण भैरहेका छन् ।
जग्गा विकास गर्दा सतह ढलको व्यवस्था हुनु पर्ने, सडक कालोपत्रे हुनु पर्ने, फोहर पानीको उपयुक्त व्यवस्थापन भएको हुनु पर्ने, खानेपानी लाइनको उपयुक्त व्यवस्था हुनु पर्ने, विजुली र टेलिफोनको व्यवस्था हुनु पर्ने तथा समुदायबाट निस्केको फोहर समुदायले नै व्यवस्थापन गर्नु पर्ने प्रावधान समेत नगरपालिकाले राखेको छ ।
तर यि सवै प्रावधान विना नै नगरक्षेत्र भित्र धमाधम अनाधिकृत रुपमा जग्गा प्लटिङ भैरहेको छ । जग्गाविकासका लागि सडकको हकमा मुल सडक जोड्ने बाटो ८ मिटर, ब्लक देखी ब्लक सम्म जाने र प्लट देखी प्लटसम्म जाने सडक ६ मिटरको हुनु पर्ने, सडकको घुम्तीमा थप २० प्रतिशत जग्गा हुनु पर्ने कार्यविधिमा उल्लेख छ ।
मानब वसोबासलाई व्यवस्थित गर्न नगरपालिकाको भूउपयोगलाई सेवा प्रवाहसँग जोड्न र सात तालको बगैचा शहरको दिर्घकालिन विकास कार्यक्रमलाई निश्चित मापदण्ड भित्र राख्न जरुरी देखिएकाले मापदण्ड बनाइएको कार्यविधिमा उल्लेख गरिएको भएपनि त्यसका कार्यान्वयन कही कतै भएको पाईदैन ।
जग्गा विकास कार्यविधि नगरपालिकाबाट पास भएको मिति देखी नीजि तथा संस्थागत अथवा जुनसुकै तरिकाले गरिने लेखनाथको जग्गा विकास सम्वन्धी कार्यहरुमा बाध्यात्मक रुपमा सवैपक्षले पालना गर्नु पर्नेछ भन्ने पनि कार्यविधिमा लेखिएको छ । तर अहिलेसम्म कुनै पनि संस्थागत तथा नीजि तवरबाट भएका जग्गा प्लटिङले यो प्रावधान पनि पालना गरेको पाइएको छैन ।
बसोबास क्षेत्र र योजनाबद्ध विकास क्षेत्रहरुमा हावापानी, घाम र अन्य दैविक प्रकोप व्यवस्थापनका दृटिकोणले व्यवस्थित गर्न खुल्ला क्षेत्रको आवश्यकता पर्ने उल्लेख गर्दै, यस्ता खुल्ला क्षेत्र प्रत्येक घरबाट टहल्न, खेलकुद गर्न, सामाजिक क्रियाकलाप गर्न साथै भुकम्प र अन्य दैविक प्रकोपको वेला उद्धारस्थलको रुपमा प्रयोग गर्न सकिने जनाइएको छ । भवन निर्माणको प्रयोजनका लागि न्यूनतम ३ आना जग्गा अनिवार्य हुनु पर्ने समेत कार्यविधिमा उल्लेख गरिएको छ ।

Source: PP

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .