BREAKING NEWS

Sunday, November 29, 2015

लाइसेन्स परीक्षा : ४७२ मध्ये २३० चिकित्सक फेल

 मंसिर १४, २०७२- नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा सहभागी ४ सय ७२ एमबीबीएस चिकित्सकमध्ये २ सय ३० जना अनुत्तीर्ण भएका छन् । परीक्षामा सामेल ४१ दन्त चिकित्सकमध्ये बीडीएस गरेका ६ जना मात्र उत्तीर्ण भएका छन् । लाइसेन्स परीक्षामा एमबीबीएस र बीडीएस उत्तीर्ण ५ सय १३ परीक्षार्थी सहभागी भएका थिए ।

‘एमबीबीएस गरेका ४८ प्रतिशत र बीडीएसका ८७ प्रतिशत चिकित्सक फेल भएका छन्,’ काउन्सिलका प्रवक्ता डा. कृष्ण अधिकारीले भने, ‘यति धेरै चिकित्सक अनुत्तीर्ण हुनुको कारण खोज्ने प्रयासमा छौं ।’ काउन्सिल स्रोतका अनुसार अनुत्तीर्ण हुने अधिकांश चिकित्सक चीनबाट एमबीबीएस पढेका छन् । स्वदेशमै पढेकाहरूसमेत उक्त सूचीमा छन् । एमबीबीएस चिकित्सक अनुत्तीर्ण हुने राष्ट्रिय समस्या रहेको डा. अधिकारीले बताए । ‘यो चिन्ताको विषय हो, विस्तृत अध्ययन आवश्यक छ,’ उनले भने । लाइसेन्स परीक्षामा धेरै पटकको प्रयासपछि उत्तीर्ण भएका र १० पटकभन्दा बढी अनुत्तीर्ण चिकित्सकबारे काउन्सिलले अध्ययन गर्ने भएको छ । शनिबारको परीक्षामा ३६ पटक अनुत्तीर्ण चिकित्सकसमेत सहभागी थिए ।

‘जीवनभर डाक्टरी गर्न दिनु हुन्नँ’
लाइसेन्स परीक्षामा गलत आचरण गरेका चारजनाले जीवनभर चिकित्सकीय व्यवसाय गर्न नपाउने गरी दण्डित गर्नुपर्ने काउन्सिलका केही पूर्वसदस्यले बताएका छन् । नक्कली परीक्षार्थी बनेका चिकित्सक र आफ्नो परीक्षा अर्कोलाई दिन लगाउने दुई चिकित्सकलाई जीवनभर पेसाबाट विमुख गराउनुपर्ने उनीहरूको माग छ ।

‘नैतिक रूपमा हेर्दा उनीहरूबाट आपराधिक काम भएको छ,’ काउन्सिल प्रवक्ता डा. अधिकारीले भने, ‘यस्ता व्यक्तिले चिकित्सा अभ्यास गर्न पाउनु हुँदैन ।’
हाल प्रहरी हिरासतमा रहेका दुवै नक्कली विद्यार्थीले ८ पटक असफल भएका सिरहाका नवीनकुमार यादव र १२ पटक असफल भएका रौतहटका सरोज साहको नाममा लाइसेन्स परीक्षा दिने प्रयास गरेका थिए । यादव र साह चीनबाट एमबीबीएस पढेका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार यादवको साटो परीक्षा दिन खोजेका सुशीलकुमार मण्डलले चिकित्साशास्त्र अध्ययन संस्थानबाट एमबीबीएस गरेका हुन् । साहको सट्टामा परीक्षा दिन खोजेका नीरज शर्मा संस्थानमा एमबीबीएस अन्तिम वर्षका विद्यार्थी हुन् । चिकित्सकद्वय यादव र साहलाई उपस्थित हुन काउन्सिलले पत्र पठाएको छ ।



Via: Ekantipur

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .