BREAKING NEWS

Friday, October 16, 2015

४० प्रतिशत कैद भुक्तान गरेकालाई माफी दिइँदै

काठमाडौं ३० असोज । 
अपराधलाई प्रोत्साहन गर्ने गरी सरकारले कारागार नियमावली संशोधन गर्न लागेको छ । अपराधीलाई फाइदा हुने गरी ४० प्रतिशत कैद भुक्तान गरेकालाई बाँकी कैद मिनाहा गर्ने गरी कारागार नियमावली २०२० संशोधन गर्न लागिएको हो ।
हाल ५० प्रतिशत कैद भुक्तान भई असल चालचलन भएका कैदीको बाँकी कैद मिनाहा गर्न सकिने प्रावधान छ । त्यस्तै, ७० वर्ष उमेर पुगेका कैदीलाई पनि बाँकी कैद मिनाहा गर्नसक्ने प्रावधान संशोधन गरी ६५ वर्ष उमेर पुगेकालाई त्यस्तो सुविधा दिनसक्ने गरी नियमावली संशोधन गर्न लागिएको हो ।
दसैँमा ठूलो संख्यामा कैदीहरू छाड्ने तयारीस्वरूप सरकारले नियमावली संशोधन गर्न लागेको हो । नियमावली संशोधनको निर्णय भइनसकेकाले माफी मिनाहाको सिफारिस अघि नबढेको कारागार व्यवस्था विभागका महानिर्देशक हिमनाथ दवाडीले जानकारी दिए ।
कानुन मन्त्रालय तथा महान्यायाधिवक्ताको कार्यालयबाट समेत स्वीकृत भई नियमावली मन्त्रिपरिषद्मा पुगिसकेको छ । सुशील कोइराला सरकारले नै नियमावली संशोधन प्रक्रिया अघि बढाएकाले वर्तमान सरकारले पनि त्यसलाई निरन्तरता दिएको छ । नियमावली संशोधनको प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगिसके पनि निर्णय भने भइसकेको छैन । तर, नियमावली संशोधन हुँदा अपराध नियन्त्रणमा कठिन हुने प्रहरी अधिकारीहरू बताउँछन् ।
‘कैदीको पक्षमा नियमावली संशोधनले अपराध गर्नेहरूलाई प्रोत्साहन मिल्ने र कानुनीराज कायम गर्न गाह्रो हुन्छ,’ एक प्रहरी अधिकारीले भने । जेलबाट छुटेका धेरै व्यक्ति फेरि अपराधमा लाग्ने गरेका छन् । ‘अब मान्छे मारे पनि सात–आठ वर्ष जेल बसेर छुटिहाल्छु भन्ने प्रवृत्ति अपराधीहरूमा विकास हुँदै गएको छ, यो खतरनाक हो,’ अपराध अनुसन्धानको क्षेत्रमा आबद्ध एक प्रहरी अधिकारीले भने ।
जीउ मास्ने–बेच्ने, जबर्जस्ती करणी, कैदबाट भागे–भगाएको, भन्सारी चोरी–निकासी, पैठारी, लागुऔषधको कारोबार, भ्रष्टाचार, जासुसी, संरक्षित वन्यजन्तु र पुरातात्त्विक वस्तुसम्बन्धी मुद्दाबाहेकका कैदीहरूको मात्र कैद सजाय मिनाहा हुनसक्ने प्रावधान कारागार ऐन २०१९ तथा कारागार नियमावली २०२० मा उल्लेख छ ।
त्यससम्बन्धी मुद्दा लागेकालाई पनि कैद मिनाहा गर्ने तयारी गरेपछि ऐन नै संशोधन गर्नुपर्ने भएकाले सरकारले नियमावली संशोधन गरेर धेरै कैदीलाई छाड्न लागेको हो । संविधान जारी भएकै अवसरमा ठूलो संख्यामा कैदी–बन्दी छाड्ने तयारी भए पनि नियमावलीअनुसार करिब तीन सय मात्र छाड्न मिल्ने भएपछि गृह मन्त्रालयले दसैँमा नियमावली संशोधन गरेर ठूलो संख्यामा छाड्ने निर्णय गरेको थियो ।
कैद मिनाहाको पद्धति नै गलत भएको प्रहरी अधिकारीहरू बताउँछन् । राम्रो चालचलन भएको भनेर जेलरले सिफारिस गरेकै आधारमा धेरै कैदी छुट्ने गर्दछन् । त्यसमा आर्थिक चलखेलसमेत हुने गरेको छ । नयाँपत्रिकाबाट

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .