BREAKING NEWS

Thursday, October 1, 2015

‘सुरक्षित पोखरा’ को खवर दिन अष्ट्रेलियन पत्रकार टोली पोखरामा

पोखरा, १४ असोज । 
भूकम्पका कारण खस्कन पुगेको नेपाली पर्यटन उद्योगलाई उकास्न आफूहरुले सक्दो सहयोग गर्ने अष्ट्रेलियाबाट पोखरा आएको पत्रकार सहितको एक प्रतिनिधिमण्डलले आश्वासन दिएको छ ।
पत्रकार सहित पाँच दिने नेपाल भ्रमणको आएको नौ सदस्यीय उक्त टोलीलाई पश्चिमाञ्चल होटल संघ पोखराले विहिबार यहाँ स्वागत गर्दै यस क्षेत्रको वास्तविक अवस्थाबारे जानकारी गराएको थियो । कार्यक्रममा बोल्दै टोलीकी एक सदस्य तालियाले नेपाल भन्ने वित्तिकै आफूहरुले पदयात्रा मात्र सम्झने गरेको तर यहाँ आएपछि पोखरा र वरपर धेरै पर्यटकीय सम्पदा र सुविधाहरु रहेको जानकारी भएको बताइन् ।
भूकम्पका कारण नेपाल नराम्रो गरी प्रभावित भएको हल्ला अन्तर्राष्ट्रिय जगतमा पुगे पनि पोखरा सुरक्षित र घुम्न लायक रहेको आफ्नो टोलीले पाएको र यो खवर आफूहरुले अष्ट्रेलियामा आफ्ना साथीहरु सम्म पुर्याउने उनले बताइन् । नेपाल सुन्दर रहेको र यहाँ थुप्रै पर्यटकीय आकर्षण रहेको जानकारी समेत आफूहरुले अष्ट्रेसिलयालीहरुसम्म पुर्याउने उनले बताइन् । टोलीका सदस्यहरुले पोखरा सुन्दर, सफा र घुम्न लायक शहर रहेको आफूहरुले पाएका बताएका थिए ।
सो अवसरमा पोखराबारे जानकारी प्रस्तुत गर्दै नेपाल पर्यटन वोर्डका पूर्व सदस्य एवं पोखरा पर्यटन पुनर्गागरण समितिका प्रमोसन, सेल्स एण्ड मार्केटिङ संयोजक वासुदेव त्रिपाठीले अष्ट्रेलियाली नागरिकहरुबाट आफूहरुले रकम र पैसा भन्दा पनि पर्यटकको अपेक्षा गरेको बताए । तपाइँका साथीहरु अनि अष्ट्रेलियालीहरु नेपाल घुम्न पठाइदिनुस्, त्रिपाठीले भने, सबैभन्दा ठूलो सहयोग त्यही हुने छ । पोखरा र वरपरको क्षेत्रको विशेषताबारे उनले कार्यक्रममा जानकारी गराएका थिए ।
संघका अध्यक्ष भरतराज पराजुलीले नेपाल सुरक्षित रहेको सन्देश अष्ट्रेलिया र अन्तर्राष्ट्रिय जगतमा फैलाइदिन टोलीसमक्ष आग्रह गरे । मिडियाले सकारात्मक सन्देश विश्ववजारमा फैलाइदिए मात्र पर्यटन अगाडि बढ्ने बताउँदै उनले नेपाल सुरक्षित रहेको सन्देश फैलाइदिन संचारकर्मीसँग आग्रह गरे । सो अवसरमा पराजुलीले संघले संचालन गर्दै आएका सामाजिक उत्तरदायित्व सम्बन्धि गतिविधिबारे समेत जानकारी गराएका थिए । यसैगरी नेपालबाट थुप्रै विद्यार्थी अष्ट्रेलिया अध्ययनका लागि गएको र जाने गरेको स्मरण गराउँदै उनले दुई देश विचको सम्बन्ध सौहार्दपूर्ण भएको बताए ।
सो अवसरमा संघका प्रथम उपाध्यक्ष विकल तुलाचनले अष्ट्रेलियाली पत्रकार र पर्यटकको टोलीलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताउँदै सकारात्मक सन्देश फैलाएर सहयोग गर्न आग्रह गरे । संघका महासचिव भेकेन्द्रकुमार श्रेष्ठले पनि सो अवसरमा आफ्नो भनाई राखेका थिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .