BREAKING NEWS

Wednesday, September 23, 2015

ठूला रेष्टुरेन्टले बियर उत्पादन गरि बिक्री गर्न पाउने

माइक्रोब्रुअरी चलाउन अनुमति दिने सरकारको निर्णय

६ असोज, काठमाडौं । अबदेखि ठूला रेष्टुरेन्टहरुले आफै बियर उत्पादन गरेर बिक्री गर्न पाउने भएका छन् । सरकारले रेष्टुरेन्टलाई माइक्रोब्रुअरी स्थापनाका लागि इजाजत दिने निर्णय गरेको छ । 

औद्योगिक प्रवर्द्धन बोर्डको २१६औं बैठकले यस्तो निर्णय गरेको हो । माइक्रोब्रुअरी सञ्चालनका लागि सरकारले मापदण्ड समेत तयार पारेको छ । उक्त मापदण्डभित्र रहेर रेष्टुरेन्टहरूले माइक्रोब्रुअरी सञ्चालन गर्न पाउने छन् । उत्पादित बियर आफ्नो रेष्टुरेन्ट भन्दा बाहिर बजारमा बिक्री गर्न पाउने छैनन् । उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपानेले माइक्रोब्रुअरी सहितको रेष्टुरेन्टलाई पर्यटन उद्योगमा वर्गीकरण गर्न नेपाल राजपत्रमा सूचना प्रकाशित गर्ने तयारी भएको जानकारी दिए । 

यस्ता छन् मापदण्ड सरकारले माइक्रोब्रुअरीबाट उत्पादन हुने बियरमा अल्कोहलको मात्रा अधिकतम ७ प्रतिशतसम्म हुनुपर्ने मापदण्ड बनाएको छ । माइक्रोब्रुअरी पक्की भवनमा स्थापना गर्नुपर्ने हुन्छ । यसैगरी कच्चा पदार्थ भण्डारण, उत्पादन क्षेत्र तथा उत्पादित बस्तुको भण्डारण छुट्टा-छुट्टै स्थानमा गरिने व्यवस्था मिलाइएको हुनुपर्ने मापदण्डमा उल्लेख छ । ‘क्लिन इन प्रोसेस फेसिलिटी’ तथा प्रयोगशालको व्यवस्था अनिवार्य गरिएको छ । 

माइक्रोब्रुअरीमा प्रयोग हुने ट्यांक तथा पाइपलाइन स्टेनलेस स्टीलको हुनुपर्ने छ । प्लास्टिकको पाइलाइन प्रयोग गर्नुपर्ने देखिएमा फुड ग्रेडको मात्र प्रयोग गर्नुपर्ने हुन्छ । बियर उत्पादन गर्दा इन्धनको रुपमा विद्युत र एलपी ग्याँसमात्र प्रयोग गर्न पाइने छ । माइक्रोब्रुअरी उद्योगले कम्तीमा एकजना अल्कोहल टेक्नोलोजिष्ट वा फूड टेक्नेलोजिष्टको प्रत्यक्ष निगरानीमा मात्र बियर उत्पादन गर्न पाउने छ । माइक्रोब्रुअरी सहितको रेष्टुरेन्टलाई पर्यटन उद्योगमा वर्गिकरण गरिने भएको छ । 

वर्गीकरणपछि मापदण्डमा उल्लेखित सम्पूर्ण प्रक्रियाहरु पुरा गरी माइक्रोब्रुअरी उद्योग स्थापनाको लागि अनुमति दिने प्रकृया सुरु हुने बताइएको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .