BREAKING NEWS

Monday, June 29, 2015

शिशुवा स्वास्थ्य केन्द्रमा सामाजिक परीक्षण

पोखरा १४ असार ।
नागरिकको स्वास्थ्य सेवाको लागि सरकारी स्वास्थ्यहरुमा निशुल्क औषधी तथा उपचार प्रदान गर्दै आए पनि सेवा प्रभावकारी नभएको गुनासो सरोकारवालाले बताएका छन् ।
नेपाल समता फाउण्डेन्सन कास्कीको आयोजना तथा जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीको सहयोगमा प्राथमिक स्वास्थ्य केन्द्रमा सोमबार गरिएको सामाजिक परीक्षण आमभेलाका सहभागीले यस्तो गुनासो गरेका हुन् । तल्लो तहमा रहेका स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवाको बारेमा प्रचारप्रसार हुन सके सरकारी लगानीको सदुपयोग हुने उनीहरुले बताए ।
नजिकै पोखरामा सुविधासम्पन्न अस्पताल भएकाले शिसुवा प्रास्वाके ओझेलमा परेको भन्दै सहभागीले एक्सरे, भीडीयो एक्सरेजस्ता सेवा प्रदान गर्न सके प्रभावकारी हुने औल्याए । लेखनाथ उद्योग वाणिज्य संघ लेखनाथका प्रथम उपाध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले नजिकै रहेको लेखनाथ सामुदायिक अस्पताल र प्रास्वाके मिलेर स्थानीयलाई सेवा दिनुपर्ने बताए । सरकारले शिसुवा प्रास्वाकेको स्तरोन्नती गर्न निर्णय गरे पनि त्यसका लागि ३५ रोपनी जग्गा चाहिने भएकाले स्थानीयको पहल जरुरी रहेको बताए ।
जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख बरिष्ठ जनस्वास्थ्य प्रशासक सागरप्रसाद घिमिरेले सरकारले जग्गा किन्ने अवस्था नभएकाले स्थानीय स्तरबाट जग्गाको व्यवस्था भए स्तरोन्नती पक्का भएको बताए । सरकारी सेवाका डाक्टर क्लिनिकमा बढी रमाउने अवस्थालाई निरुत्साहित पार्दै प्रभावकारी सेवा प्रवाह गर्न उनले आग्रह गरे ।
शिसुवा प्रास्वाके प्रमुख डा सुनिता तिमिल्सिनाले बर्सेनि बिरामीको चाप बढे पनि जनचाहना अनुसार काम गर्न नसकिएको बताइन् । नजिकै सुविधा सम्पन्न अस्पताल भएकाले पनि जनअपेक्षा धेरै भएको भन्दै उनले व्यवस्थापन समितिको सक्रियतामा अतिरिक्त ल्याब सेवा सञ्चालन गरिएको उनको भनाइ थियो । काम गर्ने क्रममा मानवीय गल्ती हुने भन्दै यस्ता गल्तीलाई आगामि दिनमा सच्याउँदै जाने प्रतिबद्धता जनाइन् । चालु आवको हालसम्म ६० जना महिलाले सुत्केरी सेवा लिएको र बालबालिकालाई खोप पनि नियमित रुपमा दिने गरिएको उनले बताइन् । स्वास्थ्य संस्था व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर श्रेष्ठले लेखनाथको २ वटा वडाका बासिन्दालाई यहाँबाट सेवा दिने गरिएको भन्दै आगामि दिनमा सेवा र गुणस्तर बढाउँदै लैजाने बताए ।
सामाजिक परीक्षक कविता थापाले निर्मलिकरण, विरामी जा“च र प्रसुती, औषधी वितरण, आकश्मिक उपचार आवासका लागि छुट्टाछुट्टै कक्ष रहेको भए पनि निर्मलीकरण भने निष्मित नभएको पाइएको बताइन् । चिकित्साजन्य फोहर जलाउन इन्सिनिरेटर भए पनि उपयोगमा नभएको, ड्रेसिङका सामान राख्न प्रयोग गरिने ड्रम प्वाल परेकोले सुधार गर्नुपर्ने उनको भनाइ थियो ।
सरकारले यही वर्ष प्रास्वाकेमा ५९ प्रकारका औषधी निशुल्क उपलब्ध गराउने भने पनि अहिलेसम्म नआएको डा तिमिल्सिनाले बताइन् । ३५ थरी औषधी पहिलादेखि नै भए पनि थप १७ प्रकारको औषधी जेठ २६ गते आएको थियो ।
सो अवसरमा महिला स्वास्थ्य स्यंसेविकाहरुले स्थानीय तहदेखि नै आफूहरु मर्कामा परेको भन्दै सरकारले आफूहरुको आवाज सुनिदिन माग राखे । मस्वासे निर्मला पौडेलले चाहिएको बेलामा मात्र आफूहरुलाई सम्झने तर सेवा सुविधा भने निकै कम भएको गुनासो राखिन् । मस्वासे लेखनाथ नगर समिति संयोजक तारा अधिकारीले सरकारको व्यवहारले आफूहरु आजित भएको बताइन् ।
लेखनाथ नगरपालिकाका कार्यकारी प्रमुख रामचन्द्र पौडेलले नगरपरिषदले पारित गरे अनुसार महिला र स्वास्थ्यको हितमा रकम खर्च भइरहेको बताए । नेपाली काँग्रेस नगर समिति सभापति राजेन्द्रमणि लामिछानेले सेवा दिने भए पनि सरकारी स्वास्थ्य संस्थाले अझै जनताको विस्वास जित्न नसकेको बताए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले सुशासन स्थापनाका लागि सामाजिक परीक्षण निकै प्रभावकारी भएको भन्दै यसक्रममा उठाइएका सवाललाई बेलैमा सम्बोधन गर्न आग्रह गरे ।
नेपाल समता फाउण्डेसनकी उपाध्यक्ष सरस्वती गुरुङले स्वागत गरेको कार्यक्रममा संस्थाकाका सचिव भरत कोइरालाले सामाजिक परीक्षणको प्रक्रिया र उद्देश्यका बारेका जानकारी गराएका थिए । संस्थाका अध्यक्ष नारायण कार्कीले स्वास्थ्य संस्थाप्रति स्थानीयको दायित्व निकै भएकाले यस्ता कार्यक्रमले सम्बन्ध सेतूको रुपमा काम गर्ने बताए । सो अवसरमा स्थानीय चिरञ्जिवी तिवारी, प्रेमकाजी गुरुङ, नन्दबहादुर गुरुङ, सीता जमरकट्टेललगायतले जिज्ञाशा एबं सुझाव राखेका थिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .