BREAKING NEWS

Thursday, June 4, 2015

६ जिल्लाका ५० गाविस खाली गर्न सिफारिस

काठमाण्डौ २२ जेठ । भूकम्पपछि पहिरोको उच्च जोखिममा रहेका ६ जिल्लाका ५० गाविस खाली गराउन विज्ञले सरकारलाई सिफारिस गरेका छन् । स्थलगत निरीक्षणपछि खानी तथा भूगर्भ विभागका अधिकारीहरूले करिब २० हजार परिवारलाई स्थानान्तरण गर्न सिफारिस गरेका हुन् ।
विभागले मंगलबार गृह मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा ६ जिल्लाका ५० गाविसका २० हजार परिवारलाई अन्यत्र पुनर्वासको व्यवस्था गर्नुपर्ने उल्लेख छ । विभागले भूकम्पले धेरै असर पारेका गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक र दोलखाको निरीक्षण गरेको थियो । गोरखाका १३, धादिङका ६, नुवाकोटका चार, रसुवाका १४, सिन्धुपाल्चोकका सात तथा दोलखाका ६ गाविसका बासिन्दालाई स्थानान्तरण गर्नुपर्ने प्रतिवेदनमा छ ।
गृहले सो प्रतिवेदन कार्यान्वयन गर्न राष्ट्रिय योजना आयोग र सहरी विकास मन्त्रालयलाई बुझाएको छ । विवाद हुन सक्ने भएकाले खाली गराउनुपर्ने गाविसको नाम सार्वजनिक गरिएको छैन । ‘पुनर्वासको कुरा निकै संवेदनशील विषय हो,’ गृह मन्त्रालयका एक अधिकारी भन्छन्, ‘अहिले प्रारम्भिक रिपोर्ट मात्र आएको हो ।’ सरकारले विपत्पछि प्रभावित क्षेत्रको अध्ययन गरेर विस्थापित भएका परिवारको पुनर्वासबारे योजना बनाइरहेको छ ।
जेठभित्रै यो विषयको टुंगो लाग्ने सहरी विकास मन्त्रालयका प्रवक्ता पदम मैनालीले बताए । पुनर्वास चुनौतीपूर्ण काम भएको गृहका अधिकारीहरू बताउँछन् । विस्थापितलाई घर मात्र नभई जग्गासमेत उपलब्ध गराउनुपर्ने हुन्छ । उनीहरूलाई कुन ठाउँमा लगेर पुनर्वास गर्ने भन्नेमा विवादसमेत हुन सक्ने भएकाले यसमा समय लाग्ने उनीहरू बताउँछन् ।
भूकम्पपछि पहिरोका जोखिमका कारण गाउँमा बस्न नसकेका करिब तीन हजार पाँच सय भूकम्पपीडित राजधानीका विभिन्न खुला स्थानमा बस्दै आएका छन् । तत्कालका लागि सरकारले जिल्ला सदरमुकामलगायतका स्थानमा अस्थायी शिविर बनाएर विस्थापितलाई राख्दै आएको छ ।
भूकम्पबाट प्रभावित काभ्रेपलाञ्चोक, रामेछाप, मकवानपुर, सोलुखुम्बु र ओखलढुंगाको भने भूगर्भ जोखिमबारे अझै अध्ययन भएको छैन । अरू जिल्लामा पनि टोली खटाइने खानी तथा भूगर्भ विभागका महानिर्देशक सर्वजित महतोले बताए । नयाँपत्रिका दैनिकबाट

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .