BREAKING NEWS

Sunday, June 28, 2015

गैरआवासीय नेपालीले नागरिकता पाउने निश्चित


काठमाण्डौ १३ असार । गैरआवासीय नेपालीहरुले नयाँ संविधान बनेपछि ‘गैरआवासीय नेपाली नागरिकता’ पाउने भएका छन् । राजनीतिक अधिकारविहीन यस्तो नागरिकता दिने प्रावधानसहित संविधानको मस्यौदा तयार भएको छ ।
संविधान मस्यौदा समितिले आइतबारको वैठकले नयाँ संविधानको एकीकृत मस्यौदा पारित गरेको छ । बैठकमा सभापति कृष्ण सिटौलाले कार्यदलले तयार पारेको एकीकृत मस्यौदामा समितिका सदस्यहरुले दिएको सुझाव अनुसार परिर्माजनसहित पारित भएको घोषणा गरेको छ । एक सदस्यका अनुसार चार दलका शीर्ष नेताहरुसहितको परामर्शले परिर्माजित मस्यौदा तयार हुनेछ र सोमबार संविधानसभा पेश हुनेछ ।
नयाँ संविधानको मस्यौदा अनुसार गैरआवासीय नेपालीहरुले नेपाली नागरिकताको प्रमाण पत्र नै पाउनेछन् । तर, त्यस्तो नागरिकताले आर्थिक, समाजिक र सांस्कृतिक अधिकार मात्र पाइनेछ । एमाले प्रमुख सचेतक अग्नि खरेलले -‘गैरआवासीय नेपालीले नागरिकता नै पाउँछन् । तर, राजनीतिक अधिकार भने पाउने छैनन् ।’ संविधानको एकीकृत मस्यौदाको धारा १९ मा गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने सम्वन्धी व्यवस्था छ ।
मस्यौदामा भनिएको छ-‘विदेशी मुलुकको नागरिकता प्राप्त गरेको सार्क भन्दा बाहिरका देशमा बसोबास गरेका नेपाली मुलको व्यक्तिलाई कानून बमोजिम आर्थिक सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न सकिनेछ ।’
नयाँ संविधान निर्माणका क्रममा प्रमाण पत्र कि नागरिकता दिने भन्ने बहस चलेको थियो । अन्तिम दिनसम्म पनि राजनीतिक दलहरुवीच गैरआवासीय नेपालीहरुलाई नागरिकता दिने विषयमा एकमत हुन सकेको थिएन । खासगरी नेकपा एमालेले सकेसम्म गैरआवासीय नेपाली परिचय पत्र मात्रै दिनुपर्ने भन्दै अडान लिएको वैठकमा सहभागी एक नेताले जानकारी दिए ।
तर, गैरआवासीय नेपाली संघको नेतृत्वले नागरिकताको बिषयमा पहिले सम्बाद समितिमा भएको सहमतिलाई नै अन्तिम रुप दिन दबाब दिएपछि अन्तिम समयमा मस्यौदामा गैरआवासीय नेपाली नागरिकता दिने प्राबधान समावेश भएको बताइएको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .