BREAKING NEWS

Saturday, May 2, 2015

भाइलाई विदेश उडाउन गएका अमबहादुर कहिल्यै फर्किएनन्



पोखरा वैशाख, १८— दीपक पुन वैदेशिक रोजगारीका लागि वैशाख १३ गते कतार उड्दै थिए । सेक्युरिटी गार्डका लागि उनको भिसा आएको थियो । दीपक आमा अमकला र बाबु बेलबहादुरका कान्छा छोरा हुन् । कान्छा छोराको भिसा आएपछि बेलबहादुरले जेठा छोरा अमर भनिने अमबहादुरलाई अह्राए, ‘छोरा, भाइलाई उडाएर आउ ।’

दाजुभाइ भएर काठमाडौं आएका अमबहादुर र दीपक काठमाडौंको सुन्धारास्थित मुनाल गेस्ट हाउसमा बसे । १३ गते फ्लाइट भएकाले १२ गते घुमफिरसँगै धरहरा चढ्ने योजना बनाए । दुवै दाजुभाइले धरहराबाट उपत्यका हेरेर ओर्लंदै थिए । ओर्लंदै धरहराको छैटौँ तलामा आइपुग्दा धरहरा बेसरी हल्लियो । सबैले ‘भूकम्प आयो’ भन्दै चिच्याएको आवाज आयो । उनीहरू छिटोछिटो तल ओर्लन कोसिस गर्दै थिए । ‘त्यसपछि मलाई केही थाहा भएन, म बेहोस भएँ छु, अनुहारमा बेसरी चोट लागेको रहेछ । होसमा आएपछि दाइलाई खोजेँ,’ भाइ दीपक भन्छन्, ‘दाजु धरहराको भग्नावशेषले पुरिएको बताइयो । तर शरीर भने फेला परेन ।’

शनिबारको भूकम्पले कास्की लेखनाथ नगरपालिकाका पुन परिवारमा पनि भूकम्प ल्यायो । लेखनाथ ढुंगेपाटनस्थित पोखरा विश्वविद्यालयमा बीबीए अन्तिम सेमेस्टरमा अध्ययनरत अमबहादुरले ज्यान गुमाए । बाबु बेलबहादुर भन्छन्, ‘भाइलाई छोडेर आऊ भनेर पठाएको छोरो कहिल्यै फर्किएन ।’ शनिबार साँझै अमबहादुरको क्षतविक्षत शरीर भेटियो, उनको मुटु भने चलिरहेकै थियो । तर, अस्पताल नपुर्याउँदै बाटैमा अमबहादुर रहेनन् । यो खबर पोखरामा बाबुआमाले थाहा पाउन बेर लागेन । बेलबहादुरले छोराको दाहसंस्कार लेखनाथमै गर्न चाहे । र, उनले पोखराबाटै शव ल्याउन गाडी पठाए । विदेश उड्न हिँडेका दीपक दाइ अमरको शव लिएर फर्के । ‘अमरले पढेर बैंकमा काम गर्छु भनेको थियो,’ बाबु बेलबहादुर भन्छन्, ‘यो हाल देख्नुपर्यो ।’

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .