BREAKING NEWS

Monday, May 11, 2015

पोखराका बोर्डिङ स्कुलका बस अधिकांश असुरक्षित, कुनैपनि बेला ठूलो दुर्घटना हुने चेतावनी


पोखरा २८ बैशाख । पोखराका बोर्डिङ स्कुलका बसहरु मापदण्ड बिपरित सञ्चालनमा आएको पाइएको छ । यसबाट कुनैपनि बेला ठूलो दुर्घटना निम्तने सरोकारवालाले चेतावनी दिएका छन् ।
नेपाल अटोमोबाईल्स स्पोर्टस एशोसियसन, अटो नेपाल, स्वतन्त्रता अभियान, रोड सेफ्टी फोरम नेपाल, एफआईए फाउण्डेसन लगायतका संस्थाहरुले हालै गरेको अनुगमनमा बोर्डिङ स्कुलका केही बसहरुले मापदण्ड नपुर्‍याइ सञ्चालन गरिरहेको पाइएको हो । हालै गरिएको अनुगमनमा पोखराका केही बोर्डिङ स्कुलका बसहरुको अवस्था जाँच गर्दा मापदण्ड बिपरित सञ्चालनमा आएको पाईएको अनुगमनमा सहभागि ईन्जिनियर प्रवेश पौडेलले जानकारी दिए ।
उनले भने, ‘पोखराका बोर्डिङ स्कुलबाट सञ्चालित केही बसहरुको कन्डिसन राम्रो छैन, ब्रेक सन्तुलन छैन, क्लज हार्ड छ, लुकिङ ग्लास फुटेका छन् ।’  कुनै बसमा सिट बेल्टसमेत नपाइएको तथा कुनै(कुनै चालकहरुले सिट बेल्ट भएपनि नलगाउने गरेको पाइएको पौडेलले जानकारी दिए । उनले थपे, ‘अधिकांश बोर्डिङ स्कुलका चालकहरुलाई सडक सुरक्षा सम्बन्धि ज्ञान छैन, नयाँ गाडी ल्याउँदा सो गाडीको प्राविधिक कुराहरुबारे पनि पर्याप्त ज्ञान नभएको पाइयो ।’
ईञ्जिनियर पौडेलले अधिकांश बोर्डिङ स्कुलका बसहरुले सिट क्षमता भन्दा बढी विद्यार्थी बोक्ने गरेको समेत भेटिएको जानकारी दिए । उनले भने, ‘यही अवस्थामा विद्यालयका बसहरुले अधिक मात्रामा विद्यार्थीहरु बोक्ने हो भने भोलि पोखरामा बोर्डिङ स्कुलका बसका कारणले धेरै ठूलो दुर्घटना हुन सक्छ ।’ समय समयमा सर्भिसिङ, मर्मत सम्भार गर्दै बस कण्डिसनमा राख्नुपर्ने भएपनि त्यस्तो भएको पाइएको छैन ।
पोखराका बोर्डिङ स्कुलका बसहरु उच्च जोखिममा रहेको अर्का ईञ्जिनियर सुदीप श्रेष्ठले बताए । उनले पोखराका बोर्डिङ स्कुलहरुले पुराना गाडीहरु जेनतेन गरेर चलाइराखेको र यसले कुनैदिन अप्रिय घटना हुनसक्ने उल्लेख गरे । उनले बोर्डिङ स्कुल मात्रै नभई पोखरामा चल्ने सार्वजनिक बसहरु पनि मापदण्ड विपरित पाईएको भन्दै यसतर्फ सबै सचेत हुनुपर्ने बताए ।
तेस्रो विश्व सडक सुरक्षा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पोखरामा सञ्चालित बोर्डिङ स्कुलका बसहरुको अनुगमन गरिएको नासाका महासचिव गोविन्द भट्टराईले जानकारी दिए । अनुगमनमा कमजोरी देखिएका बस सन्चालकहरुलाई सचेत बनाइएको छ । उनले यसको विस्तृत रिपोर्ट भने पछि सार्वजनिक गरिने जानकारी दिए ।
साभार : अनलाइनखबर

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .