BREAKING NEWS

Monday, March 9, 2015

समृद्धिको बाटोमा लेखनाथ, दश वर्षपछि लेखनाथमा हुने दश परिवर्तनहरु !!


पोखरा – कास्कीको लेखनाथ नगरपालिका बिस्तारै समृद्ध बन्दै जाने क्रममा छ । अथाह स्रोत र साधन अनि प्राकृतिक सम्पदाको धनी हुनुका कारण नै यसको समृद्धिको यात्राको बाटो फराकिलो बन्दै गएको हो । यसमा यहाँका विकासका सारथीहरुको पनि मेहेनतलाई पनि भुल्न सकिँदैन ।सात तालको धनी लेखनाथ नगरपालिका देशको सबैभन्दा व्यस्त मध्येको राजमार्ग पृथ्वी राजमार्गको काखमा हुनु, पोखरा विश्वविद्यालय स्थानान्तरण, केही ठूला उद्योगीहरुले आफ्नो उद्योगहरु स्थापना गर्नु, पर्यटन क्षेत्रमा पनि केही ठूला लगानीहरु भित्रिनु आदिका कारण अब पोखरा पछिको अर्को गन्तव्य बन्ने पर्खाइमा छ । पछिल्लो पटक कृषि उत्पादनको केन्द्र मानिएको भरतपोखरी गाविस पनि लेखनाथ नगरपालिकामा गाभिएपछि लेखनाथको समृद्धिको यात्रा झनै सहज हुने अनुमान सबैले गरेका छन् । यी त वर्तमानको मार्गचित्र भए, अबको पाँच दश वर्षमा लेखनाथ कहाँ पुग्ने छ त ? प्रस्तुत छ, लेखनाथ नगरपालिकाका विभिन्न सरोकारवाला निकायहरुसँगको छलफलपछि तयार पारेको दश वर्ष पछिको लेखनाथमा सबैले देख्न सक्ने ठानिएका दश महत्वपूर्ण परिवर्तनहरुः
रिंग रोड

वृहत पोखराको अवधारणामा पोखरा उपत्यकालाई समेटेर पोखरा चक्रपथ (रिंगरोड) को तयारी पनि अन्तिम चरणमा पुगेको छ । पोखरा उपत्यकाको बाहिरी तहलाई समेट्ने यो चक्रपथले पोखराका अलावा लेखनाथ नगरपालिकाको भरतपोखरी क्षेत्र हुँदै बेगनास क्षेत्रसम्मलाई समेट्ने योजना छ । यसले पनि लेखनाथको वृहत विकासमा अर्काे ईटा थप्ने अपेक्षा गरिएको छ ।
राष्ट्रिय बस टर्मिनल
लेखनाथको तल्लो गगनगौंडामा राष्ट्रिय स्तरको बस टर्मिनल बन्ने तयारी अन्तिम चरणमा पुगेको छ । विभिन्न चरणका छलफल र राजनैतिक सहमति पछि अब त्यहाँ पृथ्वी राजमार्ग र निकट भविष्यमा नै निर्माण शुरु हुने पोखरा रिंग रोडको बस टर्मिनल बन्ने भएको हो । यसका लागि प्रस्ताव अगाडी बढिसकेको र केही वर्षमा निर्माण शुरु हुने सम्भावना रहेको बेगनासताल बस ब्यवसायी समितिका अध्यक्ष बुद्धि बहादुर बाँस्तोलाले बताए । बाँस्तोलाका अनुसार पछिल्लो पटक क्षेत्रिय प्रशासक दिनेश थपलियाले नै यसका लागि निरन्तर पहल गरिरहेको र सरोकारवालाहरुबीच सहकार्य भएकाले यस्तो सम्भावना बढि देखिएको हो ।
औद्योगिक क्षेत्र
लेखनाथ–१ पटनेरीस्थित सेती नदीको किनारमा औद्योगिक क्षेत्र स्थापनाका लागि प्रक्रिया अगाडि बढाइएको छ । पटनेरीमा करीब ७ सय रोपनी सरकारी जग्गा रहेकाले औद्योगिक क्षेत्र स्थापनाका लागि औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले नेपाल सरकारबाट लिजमा लिने प्रक्रिया अगाडि बढिसकेको लेखनाथ उद्योग वाणिज्य संघ अध्यक्ष बाबुराम गिरीले जानकारी दिएका छन् । केही वर्ष अगाडीदेखि शुरु भएको प्रयासमा हाल उद्याग मन्त्री महेश बस्नेत सकारात्मक भए पछि अबको दश वर्षमा लेखनाथले औद्योगिक नगरी रुपमा आफ्नो परिचय थप्ने अपेक्षा गरिएको छ । यसले २०३० सालमा ५ सय १ रोपनी क्षेत्रफलमा मात्र सीमित पोखरा औद्योगिक क्षेत्रको विकल्प पनि दिनेछ ।
मेडिकल हस्पिटल
लेखनाथ नगरपालिका वडा नं. १२ मा पोखरा विश्वविद्यालयले आफ्नो मेडिकल विषयहरुको शिक्षणका लागि मेडिकल हस्पितल बनाउन विगत केही वर्षदेखि पहल गरिरहेको छ । केही महिना अगाडी अख्तियार दुरुपयोग नियन्त्रण आयोगले विश्वविद्यालयमा अनुसन्धान शुरु गरेपछि मेडिकल हस्पिटल निर्माणको कार्य ओझेलमा परे पनि कार्यवाहक पदाधिकारीहरुको नियुक्तीसँगै योजना अगाडी बढिरहेको विश्वविद्यालयका रजिष्ट्रार डा. दीपक भण्डारीले बताए । भण्डारीका अनुसार चैत्र मसान्तभित्रमा हुने विश्वविद्यालयको दीक्षान्त समारोहमा विश्वविद्यालयमा प्रधानमन्त्रीको आगमन हुँदा हस्पिटलको सिलन्यास गर्ने गरी काम भइरहेको छ । लेखनाथको विकासमा पोखरा विश्वविद्यालयले विशेष भूमिका खेलेकोमा यो अस्पतालको निर्माण पछि अझ बढि टेवा पुग्नेछ ।
अन्तर्राष्ट्रिय स्तरको सभागृह
लेखनाथमा अन्तर्राष्ट्रिय स्तरको सभागृह निर्माणका लागि लेखनाथ उद्योग वाणिज्य संघ र लेखनाथ नगरपालिकाले पहल गरिरहेको छ । सभागृहको अभावमा पोखरामा नै ठूला कार्यक्रमहरु गर्न सम्भव नभइरहेको बेला संघले लेखनाथमा यसको निर्माणका लागि केही वर्ष अघि छलफल शुरु गरेको थियो । हालसम्म ठोस उपलब्धी प्राप्त नभए पनि नगरपालिकाले त्यसको निर्माणका लागि वडा नं. ४ मा रहेको सार्वजनिक जग्गा, ५ मा रहेको डाँडा र १७ मा रहेको चिसाकुना डाँडामा रहेको जग्गा प्रदान गर्नका लागि तयार रहेको कार्यकारी अधिकृत रामचन्द्र पौडेलले बताए ।
अन्तर्राष्ट्रिय स्तरको चिडियाखाना
लेखनाथ नगरपालिका वडा नं. ११, १२ र १४ को १ सय ५० हेक्टर जंगलमा अन्तर्राष्ट्रिय स्तरको चिडियाखाना निर्माण कार्य पनि शुरु भएको छ । त्यसका लागि पचभैया सामुदायिक बनलाई आधार बनाइ जंगल छनोट गरेर प्रारम्भिक कार्य शुरु गरिएको छ । जिल्ला बन कार्यालय कास्की, जिल्ला प्रशासन कार्यालय, लेखनाथ नगरपालिका पचभैयाका तीन वटा सामुदायिक बन र युनाइटेड क्लवले चिडियाखाना निर्माणका लागी आइतबारदेखि पहिलो चरण अन्तरगत चिडियाखानाको खाका तयारी गर्ने कामको शुरु गर्ने भएका हुन । पचभैया सामुदायिक वन, चैनपुर सामुदायिक वन र चप्रियानी सामुदायिक वनमा निर्माण हुने यो चिडियाखानाका लागि लेखनाथ नगरपालिका, लेखनाथ उद्योग वाणिज्य संघ र तिन वटै वन उपभोक्ता समुह मिलेर चिडियाखानाको रेखांकन गर्ने काम भइरहेको छ । यी जंगलहरुमा चितुवा, मृग, अजिंगर लगायत विभिन्न प्रजातिका चराचुरुङगी सहित १ सय ३४ प्रजातिका जीवजन्तु र ३ सय ३६ प्रजातिका बनस्पतिहरुका साथै सिता गुफा समेत रहेको बताइएको छ ।
अन्तर्राष्ट्रिय स्तरको रंगाशाला
लेखनाथ क्षेत्रलाई खेलकुद पर्यटनको पनि विशेष भूमि बनाउनका लागि भण्डारढिकको चौरलाई अन्तर्राष्ट्रिय स्तरको रंगाशाला बनाउनका लागि खेलकुद प्रेमीहरुका अलावा नगरपालिका र उद्योग वाणिज्य संघले केही वर्ष अगाडीबाट सहकार्य गर्दै आएका छन् । यसको निर्माण पश्चात साना ठूला प्रतियोगिताको लागि पोखराको मुख ताक्नु पर्ने अवस्थाको अन्त्य हुने छ ।
बेगनास ताल वृहत योजना
बेगनास तालको प्रवद्र्धनका लागि नगरपालिकाका राजैतिक दल, सामाजिक संस्था तथा पर्यटन व्यवसायीहरु लागि परेका छन् । पोखरा भनेकै लेकसाइड र ताल भनेकै फेवा ताल भन्ने भ्रमको अन्त्य गर्नका लागि काम भइरहेको लेखनाथका कार्यकारी अधिकृत रामचन्द्र पौडेलको भनाइ छ । यसका लागि ताल वरपर पैदल तथा साइकलमा हिँडडुल गर्न सकिने गरी फुट ट्याक निर्माण, तालको बाँध नेर वाल उद्यान निर्माण, ताल क्षेत्रमा सोलर स्ट्रिट लाइट निर्माण, मन्दिरे पार्कमा फाउण्टेनको निर्माण, ताल मैत्री होटल तथा रेष्टुरेण्टहरुको विकास आदिमा कार्य भइरहेको र ५÷७ वर्षमा महशुस गर्न सकिने परिवर्तन देखिने पनि उनले बताए । त्यस्तै बेगनास तालको उद्गम थलो बेगनास गाँउ, सुन्दरी डाँडा, माझिकुना, देउराली, बेगनास बराह क्षेत्र, ठूलीस्वाँरा, बेगनास कोट आदि क्षेत्रको पनि विकास गर्ने वृहत योजना रहेको बेगनास डुंगा व्यवसायी समितिका अध्यक्ष ढकनाथ कँडेलले बताए । उनका अनुसार यी क्षेत्र पनि बेगनास ताल क्षेत्रभित्रै पर्ने र यसको सम्बद्र्धन गर्न सके पर्यटनको बसाँइ लम्बाउन सहयोग पुगी यहाँको पर्यटन उद्योग उकालो लाग्न मद्दत पुग्नेछ । उनका अनुसार बेगनासको बराह क्षेत्रमा रहेको बाराहीको मन्दिरलाई ताल बाराहीको रुपमा विकास गर्ने र तालको बीचमा पर्ने गरी जमिनलाई काटेर फेवातालको जस्तै ताल बाराही मन्दिर बेगनास तालमा पनि निर्माण गर्ने दिशामा काम अगाडी बढिरहेको छ । सम्भवतः अर्काे दशकसम्ममा पोखरा आउने पर्यटकहरुले दुई वटा ताल बाराही मन्दिरको दर्शन गर्न पाउने छन् ।
ल्याण्ड फिल्ड साइट
लेखनाथ नगरक्षेत्रको फोहोर व्यवस्थापन बिस्तारै समस्यको विषयवस्तु हुन थालेको ठहर सहित लेखनाथ नगरपालिकाले दीर्घकालिन हिसाबको ल्याण्ड फिल्ड साइट निर्माणका लागि काम शुरु गरको छ । नेपालको सबैभन्दा सफा सहरको परिचय बनाएको पोखराको भन्दा पनि राम्रो फोहोरको व्यवस्थापनको उदाहरण बनाउनका लागि शुरु भएको प्रयासले अर्काे दशकमा लेखनाथको मुहार नै अर्कै हुने सहजै अनुमान लगाउन सकिन्छ ।
१०पर्यटन प्रवद्र्धन
लेखनाथ क्षेत्र पर्यटकहरुलाई लोभ्याउनका लागि अझै पनि सफल हुन नसकेको यहाँको पर्यटन व्यवसायी तथा होटल व्यवसायीहरुको ठहर छ । बेगनास ताल बाहेक अर्काे गन्तव्य र विशेष प्याकेज बनाउन नसक्नुका कारण यहाँ पर्यटकहरुको आगमन भए पनि बास बस्न उनीहरु पोखरा नै पुग्ने गरेका छन् । यो परिस्थितीको अन्त्यका लागि लेखनाथ क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नका लागि लेखनाथ महोत्सवलाई जस्तै बेगनास फिस फेस्टिबललाई पनि अब सधैं होलीको अवसरमा मनाएर आफ्नो परिचय दिने सुरमा यहाँका होटल व्यवसायीहरु लागि परेका छन् । यहाँको पर्यटन प्रवद्र्धनका लागि वर्ष २०७२÷७३ लाई लेखनाथ भ्रमण वर्षको रुपमा मनाउने निर्णय पनि लेखनाथ नगर परिषदले गरेको छ । उता कविशिरोमणी लेखनाथ पौड्यालको जन्म थलोलाई संरक्षण गरी साहित्यिक पर्यटनलाई टेवा पुर्‍याउन लागि परेको लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकाल बताउँछन् ।
प्रस्तुतकर्तासुवास मल्ल

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .