BREAKING NEWS

Friday, March 20, 2015

दुई किशोरीलाई एशिड हान्ने पक्राउ, किशोरीलाई प्रेममा बदला लिन एसिड आक्रमण


काठमाडौ, ६ चैत /एसिड आक्रमणबाट घाइते संगीता मगरसँग प्रेम टुटेपछि जीवन बिकले बदला लिन एसिड आक्रमण गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । संगीता र सीमा बस्नेतमाथि एसिड आक्रमण गरेको अभियोगमा प्रहरीले रामेछाप पुलासी ८ घर भई हाल टोखा बस्ने २० वर्षका बिकलाई पक्राउ गरी शुक्रबार सार्वजनीक गरेको छ ।
जीवन र संगीताको भेट ०६९ मा भएको थियो । जीवनको परिवार संगीताको परिवार बस्दै आएको घरमै कोठा सरेपछि उनीहरुको प्रेम बढेको थियो । पक्राउ परेका जीवनको वयान अनुसार उनीहरु बीचको प्रेम संगीताका भाइले पाएपछि विवाद सुरु भएको हो । जीवन र संगीताको प्रेममा दरार आएपछि परिवारमै समेत विवाद भएको थियो । ‘सम्वन्धमा खटपट भएपछि बदला लिन आक्रमण गरेको देखिएको महानगरीय प्रहरी आयुक्त एआइजी विज्ञानराज शर्मा बताए ।
दुबैबीच प्रेम सम्वन्ध रहेको तर, बेलाबेला खटपट हुने गरेको देखिएको प्रहरीले जानकारी दिएको छ । जीवन गत वैशाखमा ५० हजार रुपैयाँ लिएर भारतीय आर्मीमा भर्ना हुन सिक्किम गएका थिए । तर, सफल नभएपछि नेपाल फर्किएर छुट्टै कोठा लिएर बसेका थिए ।
काठमाडौं फर्किएपछि पनि बिकले बाबुआमा र परिवारका सदस्यहरुलाई समेत आफू सिक्किममै रहेको बताएका थिए ।
जीवनले गत असोजमै १ सय २५ रुपैयाँमा न्यूरोडको एक ब्याट्री पसलबाट एसिड किने । तर, बसपार्कको होटलबाट टोखामा कोठा सर्ने क्रममा स्प्राइटको बोटलमा हालेका कारण उनले जम्मा गएको एसिड पोखियो । जीवनले फेरि एसिड किने र टोखाको एउटा चिया पलसमा हर्लिक्सको बोतलमा राखे । उनले संगीतामाथि एसिड आक्रमणको थुप्रै प्रयास गरेका थिए । तर, धेरैचोटि सफल नभएको प्रहरी अनुसन्धानले देखाएको शर्माले बताए ।
घटना भएको दिन फागुन १० गते जीवन बिहान ५ बजे नै टोखाबाट हिँडेका थिए । माइक्रो चढेर जमल आएका उनी त्यहाँबाट हिँड्दै इन्द्रचोक, बसन्तपुर हुँदै संगीता मगरको घर भएको स्थानमा पुगे । कालो मास्क लगाएका उनले झोलामा हर्लिक्सको बोटलमा एसिड बोकेका थिए । तर, संगीताको डेरामा कोही नदेखिएपछि उनी फर्किए । उनलाई संगीताले कहाँ ट्युसन पढ्छे भन्ने थाहा थिएन । तर, बसन्तपुरबाट फेरि संगीताको डेरातिर जाने क्रममा नजिकै ए प्लस ट्युसन सेन्टरमा बत्ति बलेको देखे, जहाँ संगीतालाई देखे ।
तर, त्यति नैबेला सीमा बस्नेत कोठामा प्रवेश गरेपछि उनी केहीबेर रोकिए । जतिबेला ट्युसन सेन्टरको उक्त कोटामा संगीता, सीमा र हेमु मुखर्जी गरी तीनजना छात्राहरु भेला भए, बदलाको भावना भएका कारण उनले कक्षामा गएर संगीताको अनुहारमा ताकेर एसिड छ्यापे । संगीताकी साथी सीमा पनि त्यसको शिकार बनिन्, जुन आक्रमण सीमाप्रति लक्षित थिएन । घटनापछि जीवन फेरि माइक्रो चढेर टोखा पुगे र दिनभरि सुते । जीवन २० गते काँकडभिट्टा हुँदै सिक्कम पुगे । तर, भारतीय सेनामा जागिर लगाइदिन्छु भनेका व्यक्ति नभेटिएपछि २९ गते फेरि काठमाडौं आइपुगे ।
अनुसन्धानका क्रममा प्रहरीले उनलाई पहिलो टार्गेटमै राखेको थियो र संगीताले पनि जीवनमाथि नै शंका गरेकी थिइन् । तर, अनुसन्धान अधिकृतले विभिन्न माध्यमबाट कुरा गर्दा पनि उनले आफू सिक्कममै भएको भान पारेका थिए । प्रहरीले उनको लोकेसन ट्रयास गरेर बिहीबार टोखाको स्याकुटोलबाट उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । एजेन्सी सहयोगमा तस्विर ः अनलाइन खबरबाट

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .