BREAKING NEWS

Thursday, February 12, 2015

पोखरामा जंगल फेस्टिभल शुक्रबार शुरु


पोखरा, १ फागुन/परिचय नेपालको आयोजनामा हुने ‘जंगल फेस्टिभल’को सम्पूर्ण तयारी पुरा भएको छ । उद्घाटनको अघिल्लो दिन विहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले तयारी पुरा भएको जानकारी दिएको हो । ‘जंगल फेस्टिभल’ फागुन १ गतेदेखि ७ गतेसम्म नयाँबजारस्थित शान्ति वन वाटिकामा हुँदैछ । ‘सम्पूर्ण तयारी पुरा भैसकेको छ ।’ परिचय नेपालका अध्यक्ष सोभित बस्यालले भने–‘दर्शकहरुको मनोरञ्जनका लागि यो पटक हामीले जंगलमा धेरै कुराहरुलाई समेटेका छौँ ।’ फेस्टिभलका लागि झकिझकाऊ शान्तिवनमा दर्शकहरुलाई ‘जंगली अनुभव’ दिलाउन कुनै कसर बाँकी नराखेको उनले बताए ।

 ‘हरियाली सप्ताह’को थिममा आयोजना हुन लागेको फेस्टिभलमा दर्शकहरुले विभिन्न जातजातिका जनावर, चराचुरुङगीहरुको सामिप्यतामा रम्न पाउने आयोजकको दाबी छ । जंगलमा बस्दै आएको राउटे समुदायका मानिसहरुले उनीहरुको रहनसहन, जीवनशैली प्रदर्शन गर्नेछन । राउटे जातिकै शैलीमा बनेका घरहरु पनि दर्शकहरुको लागि आकर्षण बन्ने आयोजकले अनुमान लगाएको छ । राउटे जीवनशैली देखाउनकै लागि आयोजकले अछामबाट राउटेको एउटा टोलीलाई पोखरा ल्याईसकेको छ । 

 जंगल भित्र प्रत्यक्ष रुपमा अष्ट्रीच, इमु, मुसाका प्रजाति, खरायो, लेकमा पाइने भेडा, चौरी, बाँदरका विभिन्न नयाँ प्रजाति देखि १८ प्रजातिका चरा देख्न पाईने आयोजकले बताएको छ । १६ थरीका जनवार फेस्टिभलमा हेर्न पाईनेछ । त्यस्तै हात्ति सफारी पनि दर्शकहरुको लागि आकर्षण बन्न सक्ने उसको दाबी छ । फेस्टिभलमा दर्शकको मनोरञ्जनका लागि ख्याति प्राप्त कलाकारहरुको प्रस्तुती सँगै अरु विविध कार्यक्रमहरु हुने आयोजकले बताएको छ । इन्दिरा जोशी, मिलन अमात्य, आकांक्षा बस्याल, तिलकबम बल्ल, सुगम पोखरेल, विनोद बानियाँ, कमल खत्री, योगेशकाजी देखि कन्दरा ब्यान्ड, डि–मर्चा तथा बमबहादुर कार्कीको प्रस्तुती रहने आयोजकले बताएको छ । दिनेश डिसीले कार्यक्रमको उद्घोषण गर्ने भएका छन् ।
 फेस्टिभलमा विश्वप्रसिद्ध ‘सर्कस काठमाडौ’ ले विभिन्न प्रदर्शन गर्नेछ । यस्तै फेस्टिभलमा जंगलकै थिममा आधारित रहेर मोडलहरु ¥याम्पमा पनि हिँड्दैछन । 
 ‘जंगललाई कलात्मक रुपमा सजाउने काम गरेका छौँ ।’ फेस्टिभलका ईभेन्ट म्यानेजर तथा कला निर्देशक निर्जल श्रेष्ठले भने–‘जंगलमा छिरिसकेपछि दर्शकहरुले फरक तर सुन्दर अनुभूति गर्नुहुनेछ ।’ जंगली जनावर, जंगलमा बस्दै आएका जनजातिहरुको साँस्कृतिक प्रस्तुती, जंगली थिमको फेशन शो, कन्सर्ट, गेम जोन र जंगलमै बसेर खानपिन गर्ने वातावरणले दर्शकलाई सन्तुष्ट बनाउने उनले दाबी गरे । करिव एक सय वटा साना तथा ठुला स्टलहरुबाट जडिबुटीको प्रर्दशनी तथा जानकारी, घरेलु उत्पादनका वस्तुहरुको प्रदर्शनी तथा विक्री, अर्गानीक खानाका परिकार, विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले जनचेतनामूलक सन्देश प्रवाह गर्नेछन । 

 विश्वप्रसिद्धमोटर उत्पादक ‘भक्सवागन’ ब्राण्डले मूख्यप्रायोजन गरेको ईभेन्टलाई पश्चिमाञ्चलकै नम्बर वान एफएम विग एफएमले प्रस्तुत गर्न लागेको हो । एएचएलसीको सहकार्यमा हुने ईभेन्टमा नेपाल टेलिकम, नेपाल टुरिज्म बोर्ड र पोखरा उपमहानगरपालिका प्रबद्र्धक रहेका छन् ।
तस्वीर ः गिता रानामगर

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .