BREAKING NEWS

Monday, February 9, 2015

पोखरा विश्वविद्यालयको समस्या समाधान, बढेको शुल्क फिर्ता, ताला खुल्यो


लेखनाथ : पोखरा विश्वविद्यालयले बढाइएका शुल्कहरु तत्काल लागु नगर्ने भएपछि गत माघ २२ गतेदेखि कायम तालाबन्दी खुलेको छ । योसँगै विगत एक महिनादेखि विश्वविद्यालयमा कायम विद्यार्थी संगठनहरुको आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु पनि स्थगित भएको छ ।
विभिन्न समयमा नेकपा एमाले निकट अनेरास्ववियु, नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, एनेकपा माओवादी निकट अखिल क्रान्तिकारी र नेकपा–माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीले राखेको माग पुरा नभएका भन्दै विद्यार्थी संगठनहरु विगत केही हप्तादेखि संयक्त आन्दोलनमा थिए । शनिबार अबेर भएको सहमतिमा रिटेकको शुल्क नयाँ भर्ना देखि लागु गर्ने तथा रिटोटलिङ्गको बढाइएको शुल्क फिर्ता लिई पुरानै शुल्क यथावत लिने निर्णय गरिएको अनेरास्ववियु पोखरा विश्वविद्यालयका संयोजक सुवास मल्लले बताए ।
मल्लका अनुसार केही कलेजहरुमा बढेका शुल्क तिरिसकेका विद्यार्थीहरुको हकमा भने विश्वविद्यालयमा भविष्यमा विभिन्न कामहरुका लागि तिर्नुपर्ने रकमबाट मिलान गर्ने सहमति भएको छ । बढेको शुल्क तिरिसकेका विद्यार्थीहरुले तिरेको रकम ट्रान्सक्रिप्ट, प्रोभिजनल सर्टिफिकेट, माइग्रेसन सर्टिफिकेट, रिचेकिङ्ग, रिटोटलिङ्ग आदि कार्यमा छुट पाउने समेत सहमतिमा उल्लेख गरिएको छ ।
सहमतिमा विश्वविद्यालयका रजिष्ट्रार डा. दिपकबहादुर भण्डारीले हस्ताक्षर गरेका छन् भने आन्दोलनरत चार वटै संगठनका अलावा नवगठित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका प्रतिनिधीको पनि हस्ताक्षर छ । सहमतिपत्रमा अनेरास्ववियुका तर्फबाट नेशन शर्मा, अखिल क्रान्तिकारी विप्लवका तर्फबाट नवराज भट्ट, अखिल क्रान्तिकारी वैद्यका तर्फबाट गजेन्द्र झा, नेवि संघका तर्फबाट स्वतन्त्र बस्नेत र एमाओवादी समर्थित अखिल क्रान्तिकारीका तर्फबाट रविन्द्र रोकाले हस्ताक्षर गरेका छन् ।
सहमति पछि विद्यार्थीहरुले विश्वविद्यालय केन्द्रीय कार्यालय, लेखनाथ, सम्पर्क कार्यालय, काठमाडौं, डिन कार्यालयहरु तथा विश्वविद्यालयका सम्पूर्ण आंगिक कलेजहरु तथा काठमाडौं, पोखरा र बुटवलमा रहेका विभिन्न सम्बन्धनप्राप्त कलेजका प्रशासन तथा लेखा शाखामा लागेको तालाबन्दी खुलेको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .