भरत कोइराला
पोखरा, २२ पुस ः पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठनको रुपमा अघि बढाइने भएको छ । मन्त्रिपरिषद्को बैठकले गतसाता क्षेत्रीय अस्पतालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा सञ्चालन गर्ने सैद्दान्तिक सहमति भएसँगै यो प्रक्रियाले औपचारिकता पाएको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले सो प्रस्ताव मन्त्रीपरिषद्मा लगेका थिए । बैठकले सैद्धान्तिक सहमति दिएपछि अव ब्यवस्थापिका संसदबाट पारित भएपछि प्रतिष्ठान संचालनमा आउनेछ ।
मन्त्रिपरिषद्मा सैद्धान्तिक सहमति भएपनि एकेडेमी संचालन गर्ने प्रस्तावसहितको फाइल व्यवस्थापिका संसदमा हुने छलफलपछि मात्रै अन्तिम टुंगो लाग्ने स्वास्थ्यमन्त्री खगराज अधिकारीले बताए । प्रतिष्ठानमा अध्यापन हुने विषयलगायत पूर्वाधार र अन्य भौतिक संरचना कस्तो रहने, कति विद्यार्थी क्षमताको हुने भन्नेमा पनि अहिलेसम्म निक्र्याैल भएको छैन । प्रतिष्ठानमा पोष्ट ग्राजुयटको अध्यापन गराईने भने निश्चित भएको मन्त्री अधिकारीले बताए । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एक पूर्वमेडिकल सुपरिटेण्डेण्ट कालु शर्माका अनुसार प्रतिष्ठान संञ्चालनको सुरुवाती चरणमा एमबीबीएसको कक्षा भने सञ्चालन हुँदैन । उनका अनुसार एकेडेमी स्वायत्त रहनेछ । पोखरामै सरकारी लगानीको एकेडेमी संञ्चालन गर्न सुरु भएको तत्कालिन स्वास्थ्यमन्त्री राजेन्द्र महतोको कार्यकालमा तीन सय पचास शैयाबाट स्तरोन्नति गरी पाँच सय शैया बनाउने निर्णय भए पनि कार्यान्वयन भने भएको छैन ।
२०१२ सालमा सैनिक अस्पताल, २०१९ सालमा जिल्ला, २०३२ मा अञ्चल हुँुदै २०४३ सालमा नेपालकै पहिलो क्षेत्रीय अस्पतालका रुपमा स्तरोन्नति भएको थियो । अस्पतालमा पश्चिमाञ्चलका विभिन्न १२ जिल्लाबाट गरी वार्षिक डेढ लाख भन्दा बढी बिरामीले सेवा लिंदै आएका छन् । अस्पतालमा अहिले कुल पाँच सय १५ कर्मचारी कार्यरत छन् । अहिले अस्पतालमा भौतिक र जनशक्ति दुवैको अभाव भएकाले बग्रेल्ती समस्या रहेको पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशक डा कालु शर्माले बताए । दशकौं पहिला बनेको भवन अहिले जीर्ण भइसकेको र भूकम्पीय जोखिम रहेको उनले बताए । सरकारले गत वर्षले पाँच शैयाको लागि स्वीकृति दिए पनि पूर्वाधार नभएका कारण थप्न नसकेको उनले जानकारी दिए ।
जनशक्ति र भौतिक संरचना नहुँदा क्षेत्रीय अस्पताल सरहको सुविधा दिन नसकेको उनको भनाई छ । डा शर्माले भने, ‘स्याङ्जा, बागलुङ, पर्वतका जिल्ला अस्पतालहरुमा दिन नसकेको विशेषज्ञ सुविधा समेत यहाँबाट दिन सकिएको छैन, क्षेत्रीय भन्नु मात्रै हो ।’ सरकारी अस्पतालमा सेवा सस्तो हुने भएकाले बिरामीको चाप अत्यधिक हुने गरेको छ । तर न्यून जनशक्तिका कारण गुणस्तरीय सेवा प्रदान गर्न नसकिएको उनको गुनासो छ । हतारमा स्वास्थ्यकर्मीले काम गर्नु पर्ने भएको धेरै समस्याहरु आउने गरेको उनले स्वीकार गरे ।
थोरै जनशक्तिले धेरै काम गर्नुपर्ने भएकाले बेलाबेलामा दूर्घटना समेत हुने गरेको भन्दै उनले चिकित्सक नथपेसम्म यस्ता समस्या कायमै रहने उनले बताए । ल्याबमा अत्यधिक चाप हुने भए पनि एकजना मात्र प्याथोलोजिस्टले काम चलाउनु परेको छ । यसैगरी चारजना रेडियोलोजिस्ट चाहिने भए पनि जम्मा दुई जना रहेको उनले बताए । रेडियोलोजिस्ट समेत रहेका डा शर्माले भने, अहिले म अध्यक्षमा नियुक्त भएको छु, ब्यवस्थापन मात्र हेरेर बस्न पाए सुधार गर्न सकिने थियो, तर दोहोरो काम भएकाले प्रभावकारी हुन सकेको छैन ।
अहिले मुलुकभरी नै मुटुका बिरामी बढे पनि उक्त अस्पतालमा कार्डियोलोजिस्टको दरबन्दी नै छैन । तर पनि एकजना कार्डियोलोजिस्टले काम गर्दै आएका छन् । यसैगरी केही वर्ष पहिला न्युरो सर्जरी सेवा सुरु गरिए पनि विशेषज्ञ चिकित्सकको अभावमा उक्त सेवा बन्द छ । पोखरामा मनिपाल अस्पतालमा मात्र न्युरो सर्जरी सेवा उपलब्ध छ । क्षेत्रीय अस्पतालमा क्यान्सरको उपचारको लागि अंकोलोजिस्टको दरबन्दी रहे पनि चिकित्सक छैन् । यसैगरी पिसाव रोगको उपचारको लागि युरोलोजिस्ट, नेफ्रोलोजिस्टसमेत उपलब्ध नहुँदा फिजिसियनले काम चलाउनु परेको छ । डायलोसिस सेवा संचालन हुँदै आए पनि नेफ्रोलोजिस्ट नहुँदा निकै समस्या भएको चिकित्सकहरुले बताएका छन् ।