BREAKING NEWS

Tuesday, July 31, 2012

तुइनमा अलपत्र पर्नेको उद्दार गर्ने सशस्त्र प्रहरी पुरस्कृत


काठमाडौ, श्रावण १६ - तुइनबाट नारायणी नदी पार गर्न लाग्दा घिर्निको लक भाँचिएर जोखिमपूर्ण अवस्थामा अलपत्र परेका चार महिनाकी एक नाबालिकासहित पाँच जनालाई उद्दार गर्ने सशस्त्र प्रहरी पुरस्कृत भएका छन् ।

साहसिक काम गरेको भन्दै सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारका चार जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरिएको हो ।

चार महिनाकी नाबालिका आशिका मगरलाई छातीमा बाँदरले झैं बोकेर सुरक्षित साथ साहसिक ढंगले उद्धार कार्य गर्ने सशस्त्र प्रहरी सहायक हवल्दार बलराम अधिकारीलाई सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा नगद पुरस्कार तथा प्रशंसापत्र प्रदान गरे ।

तुइनमा अलपत्र परेका अन्य चार जनालाई सकुशल उद्दार गर्ने सशस्त्र प्रहरी निरीक्षकद्वय मोहजजंग कार्की र दुर्गाप्रसाद भट्ट तथा सशस्त्र प्रहरी नायव निरीक्षक वीरेन्द्रबहादुर बमलाई समेत उनीहरुको कार्यको कदर गर्दै प्रशंसापत्र प्रदान गरिएको छ । तालिम केन्द्रलाई एकमुष्ट २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिए ।

चितवन र तनहुँ जिल्ला जोड्ने नारायणी नदीको तुइनबाट नदी पार गर्न लाग्दा चितवन जिल्लाको सिमलताल भन्ने ठाँउमा साउन १४ गते तुइनको बीच भागमा अड्किएका तनहुँ जिल्लाको छिम्केश्वरी गाविस ५ बस्ने २० वर्षीया सुष्मा आलेमगर र उनकी चार महिनाकी छोरी आशिकासहित गाँउका ५० वर्षीय बीरबहादुर मगर, २१ वर्षीया भरीमाया आलेमगर र २० वर्षीया रमिला मगरलाई सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालीम केन्द्र कुरिनटारबाट खटिएको गोताखोर तालिम प्राप्त तथा विपद् व्यवस्थापन सम्बन्धी तालिम प्राप्त एपीएफ टोलीले उद्धार गरेको थियो ।
from ekantipur

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .